हज यात्रामा जाने नेपाली हजयात्रीलाई डा. अबुल हुसेन अन्सारीको शुभकामना, विदेशमा रहेकाले एयरपोर्टमा उपस्थित हुन नसक्ने
समाजसेवी एवं युवा व्यवसायी डा. अबुल हुसेन अन्सारी ले यस वर्ष हज यात्रामा जाने नेपाली मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन्। आफू यो वर्ष नेपाल बाहिर रहेकाले हजयात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गर्न नपाउने भन्दै उनले सबैसँग क्षमा प्रार्थना गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले हज यात्रामा जाने सम्पूर्ण नेपाली हजयात्रीहरूको यात्रा सफल, सुरक्षित र सुखद रहोस् भन्ने कामना गर्दै साउदी अरबमा बसाइँका क्रममा अल्लाहको कृपा रहोस् भनी दुवा गरेका छन्।
उनका अनुसार नेपालबाट यस वर्ष कुल १ हजार २११ जना नेपाली हज यात्रामा सहभागी हुँदैछन्। हजयात्रीहरूलाई उडान मितिभन्दा दुई दिनअघि काठमाडौंको दरबारमार्गस्थित पञ्च काश्मिरी तकिया मस्जिद मा पुगेर सम्पर्क गर्न अनुरोध गरिएको छ। त्यहाँ हज यात्रासम्बन्धी आवश्यक जानकारी प्रदान गरिने बताइएको छ।
जिल्लाअनुसार हजयात्रीहरूको उडान तालिका पनि सार्वजनिक गरिएको छ।
मे ९ मा काठमाडौं, ललितपुर, चितवन, गोरखा, दाङ, कास्की, सुनसरी, मोरङ र झापाका यात्रुहरूको उडान हुनेछ भने मे १० मा सुनसरीका बाँकी यात्रु, रुपन्देही, नवलपरासी, तनहुँ र कपिलवस्तुका यात्रु प्रस्थान गर्नेछन्।
त्यस्तै, मे ११ मा बाँके, बर्दिया र सुर्खेत, मे १२ मा सिराहा, सप्तरी, धनुषा र कपिलवस्तु, मे १३ मा रौतहट, पर्सा, बारा, सर्लाही र मकवानपुर तथा मे १४ मा महोत्तरी जिल्लाका हजयात्रीहरूको उडान तय गरिएको जानकारी दिइएको छ।
सबै उडानहरू Air Arabia मार्फत सञ्चालन हुनेछन्। उडान समय बिहान ८:४५ र राति ११:१५ निर्धारण गरिएकाले यात्रुहरूलाई टिकट र समयतालिका ध्यानपूर्वक हेर्न अनुरोध गरिएको छ।
डा. अन्सारीले सार्वजनिक गरिएको भिडियो भने गत वर्षको पुरानो भएको स्पष्ट पार्दै यात्रुहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।