जापानमा आयोजना हुँदै आएको “नेपाल फेस्टिवल” अहिले नेपाली कला, संस्कृति, पर्यटन तथा राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अभियानका रूपमा विस्तार हुँदै गएको छ।
सन २००७ मा जापानको राजधानी Tokyo मा पहिलो पटक सुरु भएको नेपाल फेस्टिवललाई पछि संस्थागत रूपमा अघि बढाउँदै सन २०१४ देखि Non-Resident Nepali Association Japan ले निरन्तर आयोजना गर्दै आएको छ।
नेपाल फेस्टिवल नागोया एक्स्पो २०२६ का प्रमुख संरक्षक तथा संस्थापक संयोजक पारस मणि पोखरेलका अनुसार सन २०१९ देखि Nagoya मा पनि नेपाल फेस्टिवलको आयोजना सुरु गरिएको थियो। नागोयामा भएको कार्यक्रमले नेपाली समुदायसँगै जापानी तथा अन्तर्राष्ट्रिय समुदायबाट समेत सकारात्मक प्रतिक्रिया पाएको उनले बताए।
त्यसयता Fukuoka, Osaka र Chiba लगायत जापानका विभिन्न शहरहरूमा नेपाल फेस्टिवल विस्तार हुँदै गएको छ।
पोखरेलले नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानलाई जापानी समाजमाझ परिचित गराउनुका साथै नेपाल पर्यटन प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। साथै नेपाली उत्पादन, व्यवसाय र उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दीर्घकालीन लक्ष्यसमेत रहेको उनको भनाइ छ।
यस वर्ष आयोजना हुन लागेको “Nepal Festival & Expo 2026, Nagoya, Japan” लाई नयाँ स्वरूपसहित अझ भव्य बनाइएको आयोजकले जनाएको छ। विगतमा दुई दिनसम्म सञ्चालन हुँदै आएको कार्यक्रमलाई यसपटक तीन दिने बनाइएको छ।
कार्यक्रममा नेपालको मौलिक संस्कृति, कला, संगीत, पर्यटन, नेपाली स्वाद तथा उत्पादनहरूको विशेष प्रस्तुति रहने आयोजकको भनाइ छ। जापानभर रहेका नेपाली समुदायलाई सपरिवार सहभागी हुन तथा प्रत्येक नेपालीले कम्तीमा एक जना जापानी साथीलाई कार्यक्रममा ल्याएर नेपालको संस्कृति विश्वसामु चिनाउन सहयोग गर्न आयोजकले आग्रह गरेका छन्।