आईजीपी दानबहादुर कार्की र एआईजी नारायणदत्त पौडेल अमेरिका प्रस्थान, निमित्तको जिम्मेवारी राजन अधिकारी र वंशीराज दाहाललाई
काठमाडौं — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) नारायणदत्त पौडेल आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।
मन्त्रिपरिषद्को स्वीकृतिअनुसार दुवै प्रहरी प्रमुख संयुक्त राष्ट्रसङ्घ (यूएन) को प्रधान कार्यालयमा जुलाई ७ देखि ९ सम्म आयोजना हुने विश्व प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन अमेरिका गएका हुन्।
आईजीपी कार्कीको अनुपस्थितिमा नेपाल प्रहरीको दैनिक प्रशासनिक जिम्मेवारी पहिलो वरीयताका एआईजी राजन अधिकारीलाई दिइएको छ। प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार आईजीपी कार्कीले अधिकारीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी तोकेका हुन्।
यस्तै, सशस्त्र प्रहरी बलका महानिरीक्षक पौडेलको अनुपस्थितिमा पहिलो वरीयताका एआईजी वंशीराज दाहाललाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको छ। दाहाल हाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभाग प्रमुखका रूपमा कार्यरत छन्।
प्रहरी स्रोतका अनुसार, विगतका वर्षहरूमा युएन सम्मेलनमा प्रहरी सङ्गठन प्रमुखसँगै युएन शाखाका प्रमुख र आईजीका स्टाफ अधिकृत समेत सहभागी हुने अभ्यास रहे पनि यसपटक निमन्त्रणा प्राप्त भए तापनि मन्त्रिपरिषद्ले आईजीद्वयको मात्र भ्रमण स्वीकृत गरेको जनाएको छ।