काठमाडौं, १६ असार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्मा ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीबाट आफ्नो नाम हटाइएको भन्दै केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन्।
मंगलबार दर्ता गरिएको उजुरीमा शर्माले गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीबाट आफ्नो नाम हटाउनुको कारण सार्वजनिक गर्न, निर्णयको आधार स्पष्ट पार्न तथा आफूलाई पुनः निर्वाचित केन्द्रीय सदस्यका रूपमा कायम गर्न माग गरेका छन्।
उजुरीमा उनले चौथो उच्च मत प्राप्त उम्मेदवारलाई हटाएर पाँचौं स्थानभन्दा माथिको मत परिणामलाई उल्ट्याउने गरी गरिएको संशोधित निर्णय पार्टी विधानको मर्म, दफा २२(४) तथा निर्वाचनका आधारभूत सिद्धान्तसँग मेल नखाने दाबी गरेका छन्।
शर्माले आयोगको निर्णय वैधानिक, न्यायसंगत र विधिसम्मत नभएको उल्लेख गर्दै घोषित मत परिणाम र विधानअनुसार आफूलाई गण्डकी प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यका रूपमा कायम गर्नुपर्ने माग गरेका छन्।
महाधिवेशनपछि क्लस्टर मिलाउने क्रममा बढी मत ल्याएका केही उम्मेदवार निर्वाचित हुन नसकेको गुनासो आएपछि निर्वाचन आयोगले केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको थियो। संशोधित सूचीमा कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाएर ध्रुवकुमार थापामगर तथा पूजा बास्तोला लाई केन्द्रीय सदस्य घोषणा गरिएको थियो।
आयोगले जनजाति क्लस्टरतर्फ उम्मेदवारी दर्ताका कागजात, प्रमाण तथा मत परिणाम अध्ययन गर्दा ध्रुवकुमार थापामगर निर्वाचित भएको देखिएकाले संशोधित निर्णय गरिएको जनाएको छ।
तर शर्माले उक्त निर्णय आफूविरुद्धको अन्याय मात्र नभई आफूलाई मतदान गर्ने ९९३ प्रतिनिधिको जनादेशको समेत अवमूल्यन र अपमान भएको दाबी गरेका छन्। उनले तत्काल आफ्नो निर्वाचित हैसियत पुनः कायम गर्न, निर्णयको कानुनी तथा तथ्यगत आधार सार्वजनिक गर्न र आवश्यक स्पष्टीकरण दिन सम्बन्धित निकायसँग माग गरेका छन्।
शर्माले आफ्नो माग सम्बोधन नभए संवैधानिक, राजनीतिक तथा कानुनी अधिकारको संरक्षणका लागि उपलब्ध सबै कानुनी उपचार तथा न्यायिक प्रक्रियामा जाने चेतावनी पनि दिएका छन्। त्यसबाट उत्पन्न हुने राजनीतिक, नैतिक तथा कानुनी जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने उनको भनाइ छ।