जेनजी छानवीन आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग, दोषीमाथि कारबाही नभए निर्वाचन अर्थहीन: सर्वेन्द्र खनाल

theoutsidenepal.com

काठमाडौँ — सर्वेन्द्र खनालले जेनजी छानवीन आयोगको प्रतिवेदन तत्काल सरकारलाई बुझाएर सार्वजनिक गर्न माग गरेका छन्। समुन्नत नेपाल पार्टी नेपालका सभापति खनालले उच्चस्तरीय आयोगको म्याद थप गरेर प्रतिवेदन अल्मल्याउन खोजिएको आरोप लगाउँदै दोषीमाथि कानुनी कारबाहीको सिफारिससहित प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताएका हुन्।


नागरिकन्यूजसँग कुराकानी गर्दै अध्यक्ष खनालले आयोगले समयमै प्रतिवेदन नबुझाउँदा जेनजी आन्दोलनको औचित्य कमजोर बन्ने टिप्पणी गरे। “जेनजी आन्दोलन कुन उद्देश्यका लागि भयो? यसको उपलब्धि के हो? जेनजी पुस्ताले खोजेको केवल निर्वाचन मात्रै हो कि २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा सार्ने प्रयास हो? आन्दोलनको उद्देश्य निर्वाचन गराउनु मात्र होइन भन्ने तथ्य सरकारले बुझ्न सकेन,” उनले भने।


उनका अनुसार भदौ २३ र २४ मा भएका घटनामा संलग्न व्यक्तिहरू नै अहिले चुनावी मैदानमा छन्। “जेनजी आन्दोलन दबाउने र विध्वंस गर्ने दुवै पक्ष चुनावी प्रतिस्पर्धामा छन्। उनीहरू दुवै दोषी हुन्। आयोगको प्रतिवेदनमा दोषी देखिने भएपछि सरकारले उनीहरूलाई जोगाउन खोजेको छ,” खनालको आरोप छ। उनले आयोगले तत्काल प्रतिवेदन सार्वजनिक गरी चुनावमा उम्मेदवार रहेका दोषीमाथि कारबाही गर्नुपर्ने बताए। “अन्यथा यस्तो निर्वाचनको कुनै अर्थ हुँदैन,” उनले जोड दिए।


खनालले वर्तमान राजनीतिक संकट समाधानका लागि निर्वाचनभन्दा पहिला सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग समेत अघि सारे। “भदौ २३ र २४ का घटनामा संलग्नहरू नै अब बन्ने सरकार र संसदमा जाने स्थिति छ। दोष बोकेकाहरू आफैंले आफैंलाई कारबाही सिफारिस गर्छन् त?” उनले प्रश्न गरे।


पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) समेत रहेका खनाल बारा जिल्ला क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्। इमान्दारिता, अनुशासन र स्पष्ट दृष्टिकोणका कारण आफ्नो पार्टीप्रति जनविश्वास बढिरहेको उनको दाबी छ।


प्रतिक्रिया