रामेछापमा इन्जिनियर वीरेन्द्र श्रेष्ठको विकास–दृष्टिसहितको अपिल : परिणाममुखी नेतृत्व आवश्यक

theoutsidenepal.com

रामेछाप — प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले रामेछापवासीप्रति सम्मान व्यक्त गर्दै विकास, सीप र परिणाममुखी नेतृत्वको आवश्यकता औंल्याएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा आफ्नो जन्मभूमि, स्थानीय संस्कृति र मेहनती जनताको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै अब भाषणभन्दा परिणाम आवश्यक भएको बताएका हुन्।


श्रेष्ठले हरेक बिहानसँगै नयाँ आशा र सम्भावना आउने उल्लेख गर्दै स्थानीय एकता, जिम्मेवारी र निरन्तर प्रयासले रामेछापको भविष्य उज्यालो बनाउन सकिने धारणा व्यक्त गरेका छन्। सीप, शिक्षा, अन्तर्राष्ट्रिय अनुभव र व्यवस्थापन ज्ञान व्यक्तिगत सफलतामा सीमित नभई आफ्नै ठाउँको विकासमा प्रयोग हुनुपर्ने उनको भनाइ छ।


उनले युवालाई रोजगारी खोज्ने होइन, अवसर सिर्जना गर्ने सोच आवश्यक रहेको उल्लेख गर्दै कृषि, पर्यटन र स्थानीय स्रोत–साधनलाई जोड्ने स्पष्ट दृष्टि तथा इमान्दार प्रयासबाट मात्र वास्तविक परिवर्तन सम्भव हुने बताएका छन्। रामेछापमा सम्भावना प्रशस्त भए पनि ती सम्भावनालाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन्।


आगामी निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका श्रेष्ठले आफूलाई विजयी गराएर विकास र प्रणालीगत सुधारको यात्रामा साथ दिन मतदातासँग अपिल गरेका छन्।


प्रतिक्रिया