गैरआवासीय नेपाली संघमा युवा नेतृत्वको उदय : भिमसेन थापाको दमदार उम्मेदवारी

theoutsidenepal.com

काठमाडौँ/युरोप। गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान आईसीसी युवा संयोजक भिमसेन थापाले आगामी एकता अधिवेशनका लागि आईसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै संगठनभित्र नयाँ ऊर्जा र स्पष्ट दृष्टिकोणसहित मैदानमा उत्रिएका छन्। युरोपको पोर्चुगलबाट सक्रिय नेतृत्व गर्दै आएका थापाले संगठनात्मक रूपान्तरण, प्रत्यक्ष निर्वाचन प्रणाली, युवाको सार्थक सहभागिता र संस्थागत एकतालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।


पोर्चुगल निवासी थापा सफल व्यवसायी तथा समाजसेवीका रूपमा परिचित छन्। हस्पिटालिटी, कृषि र निर्माण क्षेत्रमा युरोप र नेपालमा उल्लेख्य लगानी गरेका उनले एनआरएनए एनसीसी पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष, आईसीसी सदस्य तथा युरोप डीआरसी हुँदै हाल आईसीसी युवा संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्। संस्थाको तल्लो तहदेखि अन्तर्राष्ट्रिय संरचनासम्म काम गरेको अनुभवले उनलाई नीतिगत तथा कार्यान्वयन दुवै पक्षमा अब्बल नेतृत्वका रूपमा स्थापित गरेको छ।


थापाले एनआरएनएभित्र देखिएको मतभेद अन्त्य गर्दै संस्थालाई एकताबद्ध र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “देश र नेपालीका लागि स्थापना भएको संस्था आफैंभित्र जुधेर बस्नु हुँदैन,” भन्ने उनको स्पष्ट धारणा छ। आईसीसी पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्तावलाई उनले संस्थागत लोकतन्त्र सुदृढीकरणको ऐतिहासिक कदमका रूपमा अघि सारेका छन्। पारदर्शिता, सहभागिता र जवाफदेहितामा आधारित नेतृत्व अहिलेको अपरिहार्य आवश्यकता भएको उनको तर्क छ।


युवालाई केन्द्रमा राख्दै नीतिनिर्माण र नेतृत्व तहमा अर्थपूर्ण भूमिका सुनिश्चित गर्ने उनको स्पष्ट योजना छ। युरोपभर छरिएका पेशागत समुदाय, विद्यार्थी र उद्यमी युवालाई एउटै सञ्जालमा जोडेर सीप, स्रोत र अनुभवको समन्वय गर्ने रणनीति उनले अघि सारेका छन्। निर्वाचित भए युरोपवासी नेपालीहरूको सुझाव र आकांक्षालाई आधार बनाएर साझा कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाएका छन्।


सामाजिक उत्तरदायित्वमा पनि थापा अग्रपंक्तिमा देखिएका छन्। देशमा भूकम्प जाँदा सिन्धुपाल्चोक लगायतका जिल्लामा राहत तथा पुनर्निर्माण सहयोगमा सक्रिय भूमिका निर्वाह गरेका उनले कोभिड–१९ महामारीका समयमा समेत खुला दिलले सहयोग पुर्‍याएका थिए। “पदका लागि होइन, सेवाका लागि अभियान” भन्ने उनको सन्देशले युवा पुस्तामा विशेष उत्साह थपेको छ।


आगामी निर्वाचनलाई एनआरएनएको भावी दिशा तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिँदै गर्दा थापाको उम्मेदवारीलाई युरोपका लाखौं नेपालीको आवाज अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा स्थापित गर्ने अवसरका रूपमा विश्लेषण गरिएको छ। भाषणभन्दा काम, पदभन्दा सेवा र प्रचारभन्दा परिणामलाई प्राथमिकता दिने कार्यशैलीका कारण उनी आईसीसी युवा उपाध्यक्ष पदका लागि सक्षम, प्रभावकारी र परिणाममुखी उम्मेदवारका रूपमा उभिएका छन्।


थापाले समस्त गैरआवासीय नेपाली, अभियन्ता र शुभेच्छुकसँग साथ, समर्थन र सुझावको अपेक्षा गर्दै आफूलाई काम गर्ने अवसर दिन हार्दिक अपिल गरेका छन्।


प्रतिक्रिया