सोलुखुम्बु — उज्यालो नेपाल पार्टी सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाले आगामी निर्वाचनमा परिवार बाहेक कसैसँग पनि आर्थिक सहयोग संकलन नगर्ने घोषणा गरेका छन्।
शेर्पाले निर्वाचन अभियानका लागि आवश्यक सम्पूर्ण व्यक्तिगत खर्च आफैं व्यहोर्ने स्पष्ट पार्दै निर्वाचन पश्चात् खर्च विवरण आवश्यक परेमा जिल्ला निर्वाचन कार्यालयमा पेश गर्ने जानकारी दिएका छन्। उनले जनतासँग आर्थिक सहयोग होइन, केवल मतको अपेक्षा रहेको बताएका छन्।
“म जनताबाट भोट मात्रै अपेक्षा राख्दछु, कुनै आर्थिक सहयोग माग्दिनँ, उठाउँदिनँ। मेरो उद्देश्य शून्य लगानीमा निर्वाचनको सामना गर्नु हो,” शेर्पाको भनाइ उद्धृत गर्दै उनका समर्थकहरूले बताएका छन्।
उनका अनुसार अनावश्यक तथा फजुल खर्च नगरी स्वच्छ र पारदर्शी ढंगले निर्वाचनमा सहभागी हुनु नै भ्रष्टाचारमुक्त समाज निर्माणको मूल आधार हो। व्यक्तिगत खर्च बाहेक अन्य कुनै आर्थिक संकलन नगर्ने अडानले सोलुखुम्बुमा राजनीतिक बहससमेत सुरु भएको छ।
शेर्पाको यो निर्णयलाई पारदर्शिता र स्वच्छ राजनीतितर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।