रामेछापमा इन्जिनियर वीरेन्द्र श्रेष्ठको घरदैलो अभियान तीव्र, रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै अपिल

theoutsidenepal.com

रामेछाप, मन्थली–कठजोर ।प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउँदै रोजगारी सिर्जनालाई चुनावी एजेन्डाको केन्द्रमा राखेका छन्। आज बिहान मन्थली–कठजोर क्षेत्रमा मतदातासँग भेटघाट गर्दै उनले आफू मत मात्र होइन, विश्वासको आधार माग्न आएको बताए।


२५ वर्षको इन्जिनियरिङ अनुभव र हजारौं युवालाई सीपसँग जोडिसकेको व्यावहारिक यात्राको अनुभव प्रस्तुत गर्दै श्रेष्ठले भने, “रोजगारी खोजेर विकास हुँदैन, रोजगारी सिर्जना गरेर मात्र समृद्धि सम्भव हुन्छ।”


उनले रामेछापका युवाहरू विदेशिन बाध्य हुनुको मुख्य कारण स्थानीय स्तरमा सीप, लगानी र अवसरबीचको कमजोर सम्बन्ध रहेको औंल्याए। त्यसलाई सुधार गर्न आफूले स्पष्ट योजना बनाएको दाबी गरे।


उनका प्रमुख योजनाहरूमा:


  • प्राविधिक तालिम र उद्यमशीलता कार्यक्रम विस्तार
  • कृषि र पर्यटन क्षेत्रलाई रोजगारीसँग प्रत्यक्ष जोड्ने मोडेल विकास
  • स्थानीय स्रोत र सीपलाई बजारसँग समन्वय गर्ने प्रभावकारी प्रणाली निर्माण



श्रेष्ठले राजनीति भावनाले होइन, तथ्य, परिणाम र उत्तरदायित्वले चलाउन चाहेको बताए। “यदि जनताले अवसर दिनुभयो भने, म विश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्छु,” उनले भने।


आउँदो निर्वाचनमा ‘आँखा’ चुनाव चिन्हमा मत दिई आफूलाई काम गर्ने अवसर दिन उनले मतदातासँग अपिल गरेका छन्।


प्रतिक्रिया