भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षादेखि स्वास्थ्यसम्म दीर्घकालीन जिम्मेवारी लिँदै शेष घले

theoutsidenepal.com

भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षादेखि स्वास्थ्यसम्म दीर्घकालीन जिम्मेवारी लिँदै शेष घले

द टन न्युज । काठमाडौं ।
एनआरएनए आईसीसीका पूर्वअध्यक्ष तथा एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण र शिक्षाका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको परियोजना बजेट प्रतिबद्धता जनाएका छन्।


घलेले आफ्नी श्रीमती जमुना गुरुङसँग आफूहरू भोटेकोशी बाढीबाट प्रभावित बालबालिका तथा उनीहरूका परिवारले भोग्नुपरेको पीडाबाट गहिरो रूपमा प्रभावित भएको बताएका छन्। बाढीको पानी घटे पनि बालबालिकाको जीवनमा परेको असर लामो समयसम्म रहने भन्दै उनीहरूको भविष्य निर्माणमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।


राष्ट्रिय बाल अधिकार परिषद् (NCRC) सँग भएको समझदारीपत्र (MoU) अनुसार १८ वर्षमुनिका योग्य बाढी प्रभावित बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने दीर्घकालीन कार्यक्रम अघि बढाइने घलेले बताएका छन्।


कार्यक्रमअन्तर्गत बालबालिकाको आवश्यकता र परिस्थितिअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक आवश्यकतामा सहयोग उपलब्ध गराइनेछ।

घलेले यो पहल आर्थिक सहयोगमा मात्र सीमित नभई बाढीबाट प्रभावित बालबालिकाको भविष्यसँग जोडिएको दीर्घकालीन प्रतिबद्धता भएको बताएका छन्।


उनले भनेका छन्, “उनीहरूले भोगेको कठिनाइले उनीहरूको जीवनका अवसरहरू निर्धारण नगरोस् भन्ने हाम्रो चाहना हो। सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूलाई आफूहरू बिर्सिएका छैनौँ भन्ने महसुस गराउन चाहन्छौँ।”


भोटेकोशी बाढीपछि प्रभावित बालबालिकाको शिक्षा र भविष्यका लागि निजी क्षेत्रबाट आएको यो दीर्घकालीन प्रतिबद्धतालाई राहतपछिको पुनर्स्थापना तथा पुनर्निर्माणको महत्वपूर्ण पाटोका रूपमा हेरिएको छ।


प्रतिक्रिया