शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने सरकारको निर्णय

theoutsidenepal.com

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने सरकारको निर्णय


काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह ले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभाव हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलका “स्लिपर सेल” जस्तै बनेको आरोप लगाए।


प्रधानमन्त्री शाहका अनुसार योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको प्रभाव बढ्दा प्रणालीप्रति जनविश्वास कमजोर भएको छ। उनले स्पष्ट पारेका छन् कि शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कदम संगठन बनाउन नसकेर नभई दीर्घकालीन सुधारका लागि गरिएको हो।


उनले भनेका छन्, “अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ।” त्यसैले सरकारले अध्यादेशमार्फत शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गर्ने निर्णय गरेको जानकारी दिए।


प्रधानमन्त्रीले यस कदमले कसैको अधिकार नखोस्ने, बरु पेशागत स्वतन्त्रता बलियो बनाउने विश्वास व्यक्त गरे। अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुनुपर्ने उनको भनाइ छ।


उनले विद्यार्थीलाई सभ्य, जिम्मेवार र विचारशील राजनीति सिक्नुपर्ने तथा कर्मचारीले कुनै दल नभई जनताको सेवा गर्नुपर्नेमा जोड दिए। “यो कुनै पार्टीविरुद्धको लडाइँ होइन, यो प्रणाली र भविष्य बचाउने प्रयास हो,” उनले उल्लेख गरेका छन्।


प्रधानमन्त्री शाहले जनताको साथ र विश्वासको अपेक्षा गर्दै परिवर्तन भाषणभन्दा निर्णयबाट आउने बताए। उनले सरकार जनचाहना अनुसार काम गरिरहेको र आगामी कदमहरू पनि आम नेपालीको हितमा हुने दाबी गरेका छन्।


प्रतिक्रिया