सभामुख डीपी अर्यालसँग युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोको बिदाइ भेट, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

theoutsidenepal.com

सभामुख डीपी अर्यालसँग युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोको बिदाइ भेट, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं — सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी महामहिम राजदूत Véronique Lorenzo ले आज बिदाइ शिष्टाचार भेट गर्नुभएको छ।

संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विस्तृत छलफल भएको थियो।


भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यस प्रक्रियामा युरोपेली संघको निरन्तर सहयोग र सकारात्मक समर्थन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।


सभामुख अर्यालले सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिँदै रोजगारी सिर्जना, पूर्वाधार विकास, द्रुत आर्थिक वृद्धि तथा प्रतिव्यक्ति आय वृद्धिलाई सरकारका मुख्य प्राथमिकताका रूपमा अघि बढाइएको बताउनुभयो।

उहाँले हालै युरोपेली संघका विभिन्न सदस्य राष्ट्रहरूसँग संसदीय मैत्री समूह गठन भएको उल्लेख गर्दै निकट भविष्यमा युरोपेली संघसँग पनि संसदीय मैत्री समूह गठन गरिने जानकारी दिनुभयो। यस्ता समूहहरूले संसदीय कूटनीति सुदृढ गर्नुका साथै नेपाल–युरोपेली संघबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

सभामुख अर्यालले नेपाल–युरोपेली संघ संयुक्त आयोगका नियमित बैठकहरूले द्विपक्षीय सहकार्यको समीक्षा र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमण तथा भेटघाटको आदानप्रदानले दुई पक्षबीचको सम्बन्ध थप मजबुत बनाएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि नेपालले युरोपेली संघसँगको साझेदारीलाई उच्च प्राथमिकतामा राख्दै द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालभरि नेपाल सरकार, संघीय संसद् तथा नेपाली जनताबाट प्राप्त सहयोग, सद्भाव र आत्मीयताप्रति आभार व्यक्त गर्दै नेपाल र युरोपेली संघबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।


प्रतिक्रिया