काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को आगामी १२औं महाधिवेशन नजिकिँदै गर्दा उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रोविन शेरचन ले बृहत् एकताका लागि सार्वजनिक अपील गरेका छन्। मार्च १४–१६ मा काठमाडौंमा हुने महाधिवेशनअघि निर्वाचन प्रणाली, डेलिगेट्स छनोट लगायतका प्राविधिक विषयमा देखिएका विवाद समाधानका लागि उनले संवाद र सहमतिलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।
शेरचनले “व्यक्तिभन्दा संस्था ठूलो” भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा माथि उठ्न सबै पक्षलाई आह्वान गरेका छन्। उनका अनुसार प्रवासमा रहेका लाखौं नेपालीको साझा घरका रूपमा रहेको एनआरएनएलाई बलियो बनाउन जिम्मेवार र परिपक्व भूमिका आवश्यक छ।
सहमति र संवादको जोड
निर्वाचन प्रणाली र डेलिगेट्स छनोटमा देखिएको असमझदारी हठ त्यागेर आपसी छलफलमार्फत समाधान गर्नुपर्ने उनले बताए। साझा बिन्दु पहिचान गरेर मात्रै अघि बढ्न सकिने उनको धारणा छ।
समावेशी र पारदर्शी निर्वाचन
संसारभरका सदस्यहरूले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था (अनलाइन वा भौतिक) सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए। यसले निर्वाचन प्रक्रिया थप पारदर्शी र सर्वस्वीकार्य बन्ने उनको विश्वास छ।
१० बुँदे सहमतिप्रति प्रतिबद्धता
प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिलाई सम्मान गर्दै आगामी महाधिवेशनलाई ‘विवादको होइन, एकताको महाधिवेशन’ बनाउनुपर्ने शेरचनको अपील छ।
उनले अन्त्यमा सबै सदस्यलाई एक ठाउँमा उभिएर एनआरएनएको साख र गरिमा उचाल्न संकल्प गर्न आग्रह गर्दै “एकता नै हाम्रो वास्तविक शक्ति हो” भन्ने सन्देश दिएका छन्।