प्रधानमन्त्री कार्यालय परिसरको घटनाबारे स्पष्टीकरण: सञ्चारकर्मीमाथि अवरोध नभएको दाबी

theoutsidenepal.com

प्रधानमन्त्री कार्यालय परिसरको घटनाबारे स्पष्टीकरण: सञ्चारकर्मीमाथि अवरोध नभएको दाबी


काठमाडौं, वैशाख २१ — प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले सोमबार एक प्रेस नोट जारी गर्दै उक्त घटनाको वास्तविकता स्पष्ट पार्ने प्रयास गरेको हो।


प्रेस नोटअनुसार, प्रधानमन्त्री शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको अत्यधिक भीड देखिएपछि व्यवस्थापन र सुरक्षासम्बन्धी विषयमा सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा राख्नुभएको थियो। उक्त चासो सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित रहेको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले सञ्चारकर्मीलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको पनि स्पष्ट पारिएको छ।


सचिवालयका अनुसार, प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरिसकेपछि केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई त्यहाँबाट हट्न भनेको भन्ने गुनासो आएको थियो। त्यसपछि सचिवालयले सम्बन्धित निकायसँग समन्वय गरी सञ्चारकर्मीलाई उपलब्ध पहुँचमा कुनै कटौती नगरिएको जानकारी गराएको जनाएको छ।


प्रेस नोटमा सञ्चारकर्मीलाई सूचना संकलन र रिपोर्टिङका लागि अनुमति दिइएको स्थानमा कुनै अवरोध नभएको र भविष्यमा पनि नहुने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य विषयलाई प्रेसमाथिको ‘अंकुश’ वा ‘अवरोध’का रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ।


सरकारले प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै सञ्चार क्षेत्रसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्दै लोकतान्त्रिक मूल्य सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।


प्रतिक्रिया