केएमसीको ऐतिहासिक सफलता: ६७ वर्षीय बिरामीको फुटेको ‘ब्रेन एभीएम’ विना चिरफार सफल उपचार
काठमाडौं — काठमाडौँ मेडिकल कलेज (केएमसी) ले ६७ वर्षीय एक बिरामीको मस्तिष्कमा भएको जटिल आर्टेरियोभेनस मालफर्मेसन (एभीएम) आधुनिक न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधिबाट सफलतापूर्वक उपचार गरेको जनाएको छ। अस्पतालका अनुसार ६७ वर्षको उमेरमा फुटेको ब्रेन एभीएमको विना चिरफार उपचार भएको नेपालकै पहिलो घटना हो।
केएमसीका अनुसार दीर्घकालीन कलेजो रोगबाट पीडित ती पुरुष अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक सीटी स्क्यान मा मस्तिष्कको असामान्य भागमा ठूलो मात्रामा रक्तस्राव (हेमाटोमा) देखिएपछि रक्तस्रावको वास्तविक कारण पत्ता लगाउन अत्याधुनिक बाइप्लेन क्याथल्याबमार्फत डीएसए एन्जियोग्राफी गरिएको थियो।
न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेल को नेतृत्वमा गरिएको परीक्षणबाट मस्तिष्कमा रगत पुर्याउने धमनी र रगत फर्काउने शिराबीच जन्मजात बनेको असामान्य रक्तनलीको जालो अर्थात् एभीएम फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ। उपचारमा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेल सहितको बहु-विषयगत चिकित्सक टोली संलग्न थियो।
चिकित्सकहरूका अनुसार एभीएम एक दुर्लभ जन्मजात रक्तनली विकृति हो, जुन प्रायः कम उमेरमै देखिने वा फुट्ने गर्छ। ६७ वर्षको उमेरमा यस्तो समस्या देखिनु र फुट्नु अत्यन्त दुर्लभ तथा उच्च जोखिमपूर्ण अवस्था मानिन्छ।
बिरामीको जटिल अवस्थालाई ध्यानमा राख्दै चिकित्सकहरूले परम्परागत टाउको खोल्ने शल्यक्रियाको सट्टा न्युरोइन्टरभेन्सन प्रविधि अपनाएका थिए। यस क्रममा तिघ्राको रक्तनलीबाट सानो क्याथेटर मस्तिष्कसम्म पुर्याई स्टेन्ट र बेलुन को सहायताले फुटेको एभीएमलाई सुरक्षित रूपमा बन्द गरिएको थियो।
अस्पतालका अनुसार उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। केएमसीले यो उपलब्धिलाई नेपालमा आधुनिक न्युरोइन्टरभेन्सन सेवाको महत्वपूर्ण सफलता तथा जटिल मस्तिष्क रोगको उपचारमा नयाँ कोसेढुङ्गाका रूपमा लिएको जनाएको छ।