प्रधानमन्त्रीलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र : ‘न्याय र प्रतिशोधबीचको सीमाना स्पष्ट हुनुपर्छ’

theoutsidenepal.com

काठमाडौं — समाजसेवी तथा युवा नेता डा. अबुल हुसेन अन्सारी ले प्रधानमन्त्री बालेन शाह लाई सम्बोधन गर्दै एक खुला पत्र सार्वजनिक गरेका छन्। पत्रमार्फत उनले देशको वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक मूल्य र नेतृत्वको भूमिकाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।


खुला पत्रमा अन्सारीले पछिल्लो समय पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गरिएको विषयले नागरिकमा आशंका, असन्तोष र अन्योल सिर्जना गरेको उल्लेख गरेका छन्। उनले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै न्याय र प्रतिशोधबीचको सीमाना स्पष्ट रहनुपर्ने बताएका छन्।


अन्सारीले ओलीले अदालतमा दिएको अभिव्यक्तिलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने उल्लेख गर्दै ती भनाइहरू राज्य संयन्त्रको कमजोरीतर्फ संकेत हुन सक्ने बताएका छन्। “निर्णयहरू यदि आवेग वा राजनीतिक दबाबमा लिइन्छन् भने त्यसले राष्ट्रलाई दीर्घकालीन क्षति पुर्‍याउन सक्छ,” उनले पत्रमा उल्लेख गरेका छन्।


उनले प्रधानमन्त्री शाहलाई नयाँ पुस्ताको प्रतिनिधि नेतृत्वका रूपमा जनताले पारदर्शी, उत्तरदायी र न्यायपूर्ण शासनको अपेक्षा गरेको स्मरण गराउँदै जोससँगै होस पनि आवश्यक हुने बताएका छन्।


पत्रमा लोकतन्त्रको मर्मबारे चर्चा गर्दै उनले विरोधी विचारको सम्मान, कानुनी प्रक्रियाको पालना, शक्तिको सन्तुलित प्रयोग र न्यायप्रतिको प्रतिबद्धता कमजोर भएमा लोकतन्त्र नै कमजोर हुने चेतावनी दिएका छन्।


अन्सारीले प्रधानमन्त्रीलाई चार बुँदे सुझावसमेत दिएका छन्। जसमा निष्पक्ष छानबिन सुनिश्चित गर्न, राजनीतिक प्रतिशोधको आभास हटाउन, वरिष्ठ नेतृत्वप्रति सम्मानजनक व्यवहार अपनाउन र जनताको विश्वास जोगाउन आग्रह गरिएको छ।


पत्रको अन्त्यमा उनले वर्तमान समयलाई संक्रमणकालीन अवस्था उल्लेख गर्दै सरकारका हरेक निर्णयले भविष्य निर्धारण गर्ने बताएका छन्। “सत्यको खोजी, न्यायको सुनिश्चितता र राष्ट्रिय एकता नै आजको आवश्यकता हो,” उनले जोड दिएका छन्।


अन्सारीले आफ्नो पत्रलाई आलोचना नभई जिम्मेवार नागरिकको चिन्ताको रूपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।


प्रतिक्रिया