कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका प्रेम आले ले चुनावी अभियानका क्रममा कडा सन्देश दिएका छन्। उनले सार्वजनिक सभामा बोल्दै अपराध र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
“अपराधीलाई जेल हाल्छु, भ्रष्टका लागि काल हुँ,” उनले भने, “जनताको पसिना र करबाट बनेको बजेटमा कसैले खेलबाड गर्न पाउँदैन। कैलाली–५ लाई सुशासन र पारदर्शिताको नमुना बनाउने मेरो लक्ष्य हो।”
उनका अनुसार निर्वाचन क्षेत्रका विकास निर्माणका काममा अनियमितता हुन नदिन कडाइका साथ निगरानी गरिनेछ। शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए।
आफ्ना समर्थकहरूबीच उनले कानूनभन्दा माथि कोही नहुने स्पष्ट पार्दै निष्पक्ष प्रशासन, प्रभावकारी सेवा प्रवाह र जनउत्तरदायी नेतृत्वको आवश्यकता औंल्याए। “अब परिवर्तन भाषणले होइन, कामले देखिनेछ,” उनको भनाइ थियो।
स्थानीय स्तरमा युवादेखि अग्रजसम्मको साथ बढ्दै गएको दाबी गर्दै उनले विकास र सुशासनको एजेन्डामै मतदातासँग भोट मागिरहेका छन्। चुनाव नजिकिँदै जाँदा कैलाली–५ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ।