राष्ट्रिय प्रजातन्त्र पार्टी की समानुपातिक उम्मेदवार खुश्बु ओली चुनावी अभियानमा सक्रिय

theoutsidenepal.com

मुलुक यतिबेला चुनावी माहोलमा छ। राजनीतिक दलका उम्मेदवारहरू घरदैलो कार्यक्रमदेखि सभासम्मेलनसम्म व्यस्त रहेका छन्। यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक उम्मेदवार खुश्बु ओली विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय रहेकी छन्।


निर्वाचन आयोग नेपाल ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि सार्वजनिक गरेको बन्दसूचीअनुसार उनी खस–आर्य महिला क्लस्टरको पहिलो नम्बरमा रहेकी छन्। पछिल्लो समय उनी पार्टीको चुनावी कार्यक्रममा सहभागी हुँदै देशका विभिन्न स्थानमा पुगिरहेकी छन्।


उनले पूर्वदेखि पश्चिमसम्मका जिल्लामा सभासम्मेलन तथा भेटघाट कार्यक्रम गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरिरहेकी छन्। तराई–मधेश, मध्यपहाडी क्षेत्र, साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेश का केही जिल्लामा समेत कार्यक्रम सम्पन्न गरेको उनले बताइन्। यसैक्रममा शनिबार उनी चुनावी अभियानका लागि झापा पुगेकी छन्।


चुनावी कार्यक्रममा उनले “एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई” तथा “एक भोट हलोमा, देशको भलोमा” जस्ता नारामार्फत मत माग्दै आएकी छन्। सार्वजनिक सभामा उनले राष्ट्रियता, धर्म, संस्कृति र राजनीतिक स्थिरतासम्बन्धी विषय उठाउँदै मतदातासँग समर्थन मागेकी छन्।


राप्रपा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभामा पाँचौँ ठूलो शक्ति बनेको थियो। यसपटक प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सुधारिएको नतिजा ल्याउने लक्ष्यसहित पार्टी अघि बढेको खुश्बु ओलीको भनाइ छ।


प्रतिक्रिया