डीआईजी सानुराम भट्टराईले सम्हाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

theoutsidenepal.com

डीआईजी सानुराम भट्टराईले सम्हाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

धनगढी । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाको २०८३ जेठ २९ गतेको पत्रादेशअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका भट्टराईले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका प्रतिनिधि तथा कैलाली र कञ्चनपुरका विभिन्न प्रहरी कार्यालयका प्रमुखसहित अन्य प्रहरी कर्मचारीले नवआगन्तुक प्रदेश प्रहरी प्रमुखलाई स्वागत गरेका थिए।

पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले सुदूरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिएका थिए।

उनले मातहतका प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्रभावकारी बनाउने, नागरिक तथा पीडितमैत्री प्रहरी सेवा प्रवाह गर्ने, सुशासन र मानवअधिकार संरक्षणलाई प्राथमिकतामा राख्ने तथा प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउने विषयमा विशेष निर्देशन दिएका छन्।

त्यसैगरी, लागूऔषध कारोबार, तस्करी, जुवातासलगायत गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै चुस्त, दुरुस्त र प्रभावकारी प्रहरी परिचालन गर्न समेत उनले निर्देशन दिएका छन्।

डीआईजी भट्टराईको आगमनसँगै सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया