बाढीको उच्च जोखिमपछि ३ प्रमुख सडकमा यात्रा नगर्न प्रशासनलाई आग्रह

theoutsidenepal.com

काठमाडौं — भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले अर्को सूचना नआउँदासम्म भोटेकोशी, त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा जान तथा आवश्यक पर्दा खोज तथा उद्धारका लागि सम्पर्क गर्न भनिएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन स्थानीय तह तथा प्रशासनलाई अनुरोध गरेको छ।

साथै, ती सडकमा आवतजावतमा पूर्ण रोक लगाउनसमेत स्थानीय तह र प्रशासनलाई आग्रह गरिएको छ।

खोज, उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्न सम्बन्धित सबै पक्षलाई प्राधिकरणले अपिल गरेको छ।

📞 आपत्कालीन सम्पर्क: १०० / ९८४३४११११४

प्रतिक्रिया