एनआरएनएको नयाँ इतिहास लेखिँदै: दीपक कंडेलको नेतृत्वमा ‘आरोहण–२०२६’ को भव्य तयारी, ग्वाङ्झाउ बन्दै विश्व नेपालीको केन्द्र

theoutsidenepal.com

एनआरएनएको नयाँ इतिहास लेखिँदै: दीपक कंडेलको नेतृत्वमा ‘आरोहण–२०२६’ को भव्य तयारी, ग्वाङ्झाउ बन्दै विश्व नेपालीको केन्द्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकतापछि पहिलोपटक आयोजना हुन लागेको ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ ले विश्वभरका नेपालीबीच नयाँ आशा, नयाँ ऊर्जा र नयाँ विश्वास जगाएको छ। आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर मा हुने सम्मेलनको तयारी यतिबेला तीव्र गतिमा अघि बढिरहेको छ।


यस ऐतिहासिक सम्मेलनलाई सफल बनाउन एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कंडेल (आरसी) को नेतृत्वमा सम्पूर्ण टोली दिनरात खटिएको छ। सम्मेलनको प्रत्येक पक्षलाई सूक्ष्म रूपमा व्यवस्थापन गर्दै कंडेलले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा आयोजक टोलीसँग निरन्तर समन्वय गरिरहेका छन्। उनका सक्रिय प्रयासले सम्मेलनप्रति विश्वभर रहेका गैरआवासीय नेपालीको उत्साह झन् बढेको छ।

एनआरएनएको लामो समयदेखिको एकतालाई व्यवहारमा उतार्ने पहिलो ठूलो अवसरका रूपमा हेरिएको ‘आरोहण–२०२६’ केवल एउटा सम्मेलन मात्र होइन, संगठनको नयाँ अध्यायको उद्घोष गर्ने ऐतिहासिक अभियानका रूपमा स्थापित हुँदै गएको छ। सम्मेलनले विश्वभर छरिएर रहेका नेपालीलाई एउटै साझा उद्देश्यमा जोड्दै नेपालमा लगानी, व्यापार, पर्यटन, प्रविधि, नवप्रवर्तन र ज्ञान हस्तान्तरणको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।


सम्मेलनमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू, सांसदहरू, एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा, संस्थापक अध्यक्षहरू, पूर्वअध्यक्षहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, एसिया–प्रशान्त क्षेत्रका प्रतिनिधिहरू, प्रतिष्ठित उद्योगी–व्यवसायी, लगानीकर्ता, पर्यटन क्षेत्रका अगुवा, वैदेशिक रोजगार विज्ञ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहनेछ।

अध्यक्ष डा. शर्माले पनि एकतापछिको पहिलो क्षेत्रीय सम्मेलन भएकाले विश्वभर रहेका सम्पूर्ण एनआरएनए अभियन्तालाई ग्वाङ्झाउ पुगेर इतिहासको साक्षी बन्न आह्वान गरेका छन्। उनले हालै निर्वाचित पदाधिकारी, सल्लाहकार तथा संरक्षकहरूलाई सम्मेलनमा सहभागी भई औपचारिक रूपमा सपथ ग्रहण गर्न विशेष आग्रह गरेका छन्।

दुईदिने सम्मेलनमा प्रत्यक्ष वैदेशिक लगानी, व्यापारिक साझेदारी (बीटुबी नेटवर्किङ), पर्यटन प्रवर्द्धन, सूचना प्रविधि, जलविद्युत्, कृषि, पूर्वाधार, महिला उद्यमशीलता, युवा नेतृत्व तथा सुरक्षित र उत्पादनमुखी वैदेशिक रोजगारीका विषयमा गहन छलफल हुनेछ। दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई नेपाली भाषा, संस्कृति र मातृभूमिसँग अझ नजिक जोड्ने विशेष कार्यक्रम पनि सम्मेलनको प्रमुख आकर्षण रहनेछ।

समापन समारोहमा ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गर्दै नेपाल सरकारलाई लगानी, पर्यटन, प्रवासी नेपालीका अधिकार तथा नीतिगत सुधारका विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरिनेछ।

स्थानीय आयोजक एनआरएनए चीन ले सम्मेलनलाई ऐतिहासिक सफलतामा पुर्‍याउन व्यापक तयारी गरिरहेको छ। उपसंयोजक भविन्द्र बस्नेत, लालसिंह खड्का लगायतको टोली पनि सक्रिय रूपमा परिचालित छ। आयोजकका अनुसार सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।

एनआरएनएको एकतापछि आयोजना हुन लागेको पहिलो क्षेत्रीय सम्मेलन भएकाले ‘आरोहण–२०२६’ लाई विश्वभरका नेपालीलाई एउटै साझा उद्देश्यमा जोड्ने, संगठनको भावी कार्यदिशा तय गर्ने र नेपालसँग प्रवासी नेपालीको सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ। ग्वाङ्झाउमा हुन लागेको यो सम्मेलनले एनआरएनएको नयाँ युगको सुरुआतको सन्देश दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया