द टन न्युज, काठमाडौं । सरकारले राष्ट्रिय पञ्जीकरणसम्बन्धी सेवा नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका विवरणलाई एउटै डिजिटल प्रणालीमा समेट्ने तयारी गरिएको हो।
सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साह का अनुसार हाल प्रारम्भिक चरणको काम सुरु भइसकेको छ र केही समयभित्रै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ। तथ्याङ्क एकीकृत भएपछि नागरिकहरूले जन्मदर्ता, विवाह दर्ताजस्ता प्रमाणपत्र नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन्।
सरकारले पछिल्लो समय डिजिटल सुशासनलाई सुदृढ गर्दै सार्वजनिक सेवाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ। सोही अभियानअन्तर्गत निजामती कर्मचारीका व्यक्तिगत विवरण, लोक सेवा आयोग का परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) समेत नागरिक एपबाट उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद् सँगको सहकार्यमा परिषद्बाट जारी हुने व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि एपमार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले तोकिएको ४५ दिनको समयसीमाभन्दा अगावै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। उनको सक्रिय पहलमा नागरिक एपमा थप सेवा एकीकृत गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको विभागले जनाएको छ।
यस योजना मन्त्रिपरिषद्बाट चैत १३ गते स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत पनि समेटिएको छ। हाल नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Report) डाउनलोड गर्ने सुविधा भने सञ्चालनमा आइसकेको छ।
नयाँ सेवाहरू थपिँदै जाँदा नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ। डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस पहलले सेवाग्राहीलाई समय, लागत र झन्झटबाट राहत दिने तथा सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने विश्वास गरिएको छ।