टोकियो — जापानमा क्रियाशील कास्की पोखरा समाज जापानले प्रवासी नेपालीहरूको भूमिका र समसामयिक राष्ट्रिय मुद्दामाथि केन्द्रित गर्दै ‘प्रवासी भूमिमा: राष्ट्रिय बहस’ कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजका महासचिव जीवन पोख्रेल कञ्चनका अनुसार कार्यक्रम आगामी जनवरी २५, २०२६ का दिन दिउँसो २ बजे, टोकियोको शिन्जुकु क्षेत्रस्थित सभा हलमा आयोजना हुनेछ।
कार्यक्रमका मुख्य वक्ताका रूपमा नेपाली सार्वजनिक बहसमा परिचित विश्लेषक सौरभ सहभागी हुनुहुनेछ। सौरभ समाज, राजनीति तथा राष्ट्रिय सरोकारका विषयमा लामो समयदेखि धारणा राख्दै आउनु भएको विश्लेषक हुनुहुन्छ।
उहाँले सञ्चार माध्यम र सार्वजनिक मञ्चमार्फत प्रवासी नेपाली, लोकतान्त्रिक अभ्यास, सामाजिक उत्तरदायित्व तथा समसामयिक राष्ट्रिय मुद्दामाथि विचार प्रस्तुत गर्दै आउनु भएको छ। तथ्य र अनुभवमा आधारित विश्लेषणका कारण सौरभ प्रवासी तथा युवा पुस्तामाझ रुचाइएका वक्ताका रूपमा चिनिनुहुन्छ।
समाजका अध्यक्ष कमल बास्तोलाका अनुसार कार्यक्रममा प्रवासी नेपालीहरूले देश विकास, सामाजिक रूपान्तरण तथा राष्ट्रिय हितमा खेलेको भूमिकामाथि गहन बहस गरिनेछ। कार्यक्रममा सौरभले प्रवासमा रहेका नेपाली र राष्ट्रबीचको सम्बन्ध, जिम्मेवारी तथा सम्भावनाबारे आफ्ना अनुभव र अवलोकनका आधारमा धारणा राख्ने कार्यक्रम तय गरिएको छ।
कार्यक्रमको संयोजन सुरेश लामीछानेले गर्नुहुनेछ। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले जापानमा रहेका नेपालीहरूबीच विचार आदान–प्रदान, चेतना अभिवृद्धि र आपसी एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा जापानका विभिन्न क्षेत्रबाट नेपालीहरूको उल्लेख्य सहभागिता रहने विश्वास कास्की पोखरा समाज जापानले व्यक्त गरेको छ।