द टन न्युज, काठमाडौं । पछिल्लो समय २५ लाख रुपैयाँ बराबरको सेयर प्रकरणमा नाम जोडिँदै विभिन्न आरोप र बहस भइरहेका बेला गृहमन्त्री सुदन गुरुङले विस्तृत स्पष्टीकरण सार्वजनिक गरेका छन्। उनले आफूविरुद्ध उठेका अधिकांश प्रश्नहरू “हल्ला र आंशिक तथ्यमा आधारित” रहेको दाबी गरेका छन्।
गुरुङका अनुसार सम्पत्ति विवरणमा सेयर नदेखाइएको भन्ने आरोप तथ्यपूर्ण नभई “वर्गीकरणको विषय” मात्र हो। उनले धितोपत्र बजारमा कारोबार हुने सेयरअन्तर्गत २ करोडभन्दा बढी लगानी खुला रूपमा उल्लेख गरिसकेको स्पष्ट पारेका छन्। “लुकाउने मनसाय भएको व्यक्तिले खुला रूपमा यति ठूलो रकम देखाउँदैन,” उनले भनेका छन्।
सेयर खरिदको विषयमा उनले मन्त्री हुनुअघि नै लगानी गरिएको र सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत पारदर्शी रूपमा भएको बताएका छन्। लगानीको स्रोतसमेत स्पष्ट पार्दै उनले उक्त रकम ऋणमार्फत जुटाइएको र त्यसको लिखित तमसुक तथा बैंक रेकर्ड उपलब्ध रहेको जानकारी दिएका छन्।
“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै गुरुङले एउटै कम्पनीमा हजारौँ सेयरहोल्डर हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको बताएका छन्। “यदि त्यसैलाई आधार मान्ने हो भने सोही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने हुन्छ,” उनको भनाइ छ।
त्यसैगरी ‘Conflict of Interest’ सम्बन्धी आरोपबारे उनले छानबिन गर्ने अधिकार गृह मन्त्रालयमा नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्बन्धित निकायमा रहेको स्पष्ट पारेका छन्। प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्।
गुरुङले लगानीमा जोखिम स्वाभाविक हुने र पछि घटेका घटनालाई आधार बनाएर अघिको निर्णयमाथि प्रश्न उठाउनु उचित नहुने बताएका छन्। कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया नदिएको पनि उनले स्पष्ट पारे।
अन्त्यमा उनले आरोप र सत्य फरक हुने भन्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन्। साथै, पार्टीले गर्ने निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धान प्रक्रियामा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको उक्त स्पष्टीकरणपछि यस विषयमा जारी बहस अझ तीव्र हुने देखिएको छ।