एनआरएनए–आईएलओ सहकार्य थप सुदृढ गर्ने सहमति, आप्रवासी श्रमिकको सुरक्षा र कल्याणमा जोड
काठमाडौं, भदौ ९। गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकको सुरक्षा, सामाजिक सुरक्षा तथा कल्याणका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको छ।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र आईएलओका नेपाल प्रमुख (कन्ट्री डाइरेक्टर) नुमान ओज्कानबीच भएको छलफलमा आप्रवासी नेपाली श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य, सचेतना, आपत्कालीन सहयोग, पुनःस्थापना तथा फर्किएका श्रमिकको सीप र अनुभवको उपयोग लगायतका विषयमा विस्तृत छलफल भएको हो।
छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि सरकार, गैरसरकारी संस्था, साझेदार निकाय र प्रवासी नेपाली समुदायबीचको सहकार्य तथा समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
एनआरएनए अध्यक्ष डा. शर्माले विभिन्न मुलुकमा आप्रवासी श्रमिकका समस्या फरक भए पनि धेरै देशमा समान प्रकृतिका चुनौती रहेको बताउनुभयो। एनआरएनएले लामो समयदेखि नेपाली श्रमिकको हकहित र संरक्षणका लागि काम गर्दै आएको उल्लेख गर्दै उहाँले कोभिड–१९ महामारीका समयमा समेत एनआरएनए र आईएलओबीचको सहकार्यबाट नेपाली श्रमिक लाभान्वित भएको स्मरण गर्नुभयो।
विदेशमा रहेका नेपाली श्रमिकले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई नेपालमा उपयोग गर्ने विषयमा पनि एनआरएनएले निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो। युरोपसहित विभिन्न क्षेत्रमा नेपाली श्रमिकका समस्या फैलिएकाले सम्बन्धित एनसीसीहरूको सञ्जाल र क्षमतालाई प्रभावकारी रूपमा परिचालन गर्दै आईएलओसँग थप सहकार्य गर्न सकिने उहाँको भनाइ थियो।
एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले आप्रवासी नेपालीसम्म आवश्यक सूचना र सेवा पुर्याउन प्रत्यक्ष सम्पर्क तथा समुदायमा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। नेपाल फर्किने नेपालीलाई कहाँ जाने, कसरी आवश्यक सेवा प्राप्त गर्ने र सम्बन्धित सरकारी तथा अन्य संयन्त्रसँग कसरी जोडिने भन्ने विषयमा स्पष्ट मार्गदर्शन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
एनआरएनए महासचिव डा. चिरञ्जीवी खड्काले मध्यपूर्वमा संघले पहिलोपटक श्रमिक सम्मेलन गर्न लागेको जानकारी दिँदै आईएलओलाई निमन्त्रणा दिनुभयो। उहाँले आप्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा अत्यन्त महत्वपूर्ण विषय रहेको बताउँदै यस क्षेत्रमा परियोजना विकास भइरहेको जानकारी दिनुभयो।
खड्काले क्रोएसिया, रोमानियालगायतका मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक जाने गरेको उल्लेख गर्दै उनीहरूको सामाजिक सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। विदेशमा नेपाली श्रमिकको मृत्यु हुँदा शव नेपाल ल्याउने क्रममा कानुनी प्रक्रिया, कागजात, दोभाषे, स्थानीय समन्वय तथा अन्य व्यवस्थापनमा समस्या हुने गरेको भन्दै यस्तो अवस्थामा प्रभावकारी सहयोग संयन्त्र आवश्यक रहेको उहाँले बताउनुभयो।
आईएलओका नेपाल प्रमुख नुमान ओज्कानले नेपाली आप्रवासी श्रमिकको आवाजलाई सशक्त रूपमा उठाउन तथा विदेशमा रहेका नेपाली समुदायलाई नेपालका सम्बन्धित संस्था र साझेदारहरूसँग जोड्न एनआरएनएले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
उहाँले कुनै पनि कार्यक्रम प्रभावकारी बनाउन लक्षित समुदायसँग प्रत्यक्ष संवाद आवश्यक रहेको उल्लेख गर्दै वास्तविक समस्या र आवश्यकतामा आधारित प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। ओज्कानले आप्रवासनलाई सम्पूर्ण चक्रका रूपमा हेर्नुपर्ने बताउँदै वैदेशिक रोजगारीमा जानुअघिको तयारी, तालिम, सुरक्षा, लागत तथा प्रक्रियादेखि स्वदेश फर्किएपछिको पुनःस्थापनासम्म व्यवस्थित प्रणाली आवश्यक रहेको धारणा राख्नुभयो।
सरकारले हाल प्रदान गरिरहेका सेवा तथा व्यवस्थाको अध्ययन गरी त्यसमा एनआरएनए, आईएलओ तथा अन्य साझेदार संस्थाले थप योगदान गर्न सक्ने क्षेत्र पहिचान गर्नुपर्ने उहाँको भनाइ थियो।
बैठकले आगामी दिनमा एनआरएनए, आईएलओ, सरकार, सम्बन्धित मन्त्रालय, मानसिक स्वास्थ्य सेवा प्रदायक तथा अन्य साझेदार संस्थाबीच सहकार्यलाई थप बलियो बनाउँदै सामाजिक सुरक्षा, मानसिक स्वास्थ्य, सीप उपयोग, पुनःस्थापना र आप्रवासी श्रमिकको समग्र कल्याणका क्षेत्रमा कार्यक्रम अघि बढाउने आवश्यकता औंल्याएको छ।
द टन न्युज