‘अर्नब’ चक्रवातको प्रभावबारे विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक, जोखिम क्षेत्रमा सतर्कता अपनाउन निर्देशन

theoutsidenepal.com

‘अर्नब’ चक्रवातको प्रभावबारे विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक, जोखिम क्षेत्रमा सतर्कता अपनाउन निर्देशन

द टन न्युज । काठमाडौं ।

बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको पछिल्लो अवस्था, यसका कारण नेपालमा उत्पन्न हुन सक्ने विषम मौसमी अवस्था तथा सम्भावित जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने तयारीबारे छलफल गर्न विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक आयोजना गरिएको छ।

बैठकमा चक्रवातको सम्भावित प्रभाव, वर्षा, बाढी, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूले गरेका पूर्वतयारी र प्रतिकार्य योजनाबारे छलफल गरिएको थियो। सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले मौसमको अवस्था, सम्भावित जोखिम तथा सडक अवरुद्ध भएमा यातायात सञ्चालनलाई पुनः सुचारु गर्न गरिएका तयारीबारे जानकारी गराएका थिए।


नेपाल मौसम विज्ञान विभागकी प्रतिनिधि तथा प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात नेपालमा प्रवेश गर्दा कमजोर भइसकेको भए पनि यसको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा सामान्य हावाहुरीको सम्भावना रहेको जानकारी दिएकी छन्।

सम्भावित मौसमी प्रतिकूलताबाट जनधनको क्षति हुन नदिन बैठकले जोखिमयुक्त जिल्लाहरूमा मौसम तथा विपद्को अवस्थाबारे निरन्तर सूचना संकलन र निगरानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

त्यसैगरी, सम्भावित जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउन, आवश्यक पूर्वतयारी गर्न तथा अवस्था गम्भीर भएमा तत्काल प्रतिकार्यका लागि परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको छ।

सर्वसाधारणलाई सतर्क रहन आग्रह

सम्भावित वर्षा, बाढी, पहिरो तथा हिमपातको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणले आधिकारिक मौसम पूर्वानुमान तथा विपद्सम्बन्धी सूचनामा ध्यान दिन आवश्यक छ। जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र विपद्को संकेत देखिएमा सुरक्षित स्थानतर्फ जान तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न अनुरोध गरिन्छ।

समयमै सूचना, प्रभावकारी समन्वय र पूर्वतयारीले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।


प्रतिक्रिया