बेत्रावतीका १०० बाढीपीडित परिवारलाई राहत वितरण गर्दै समाजसेवी अनिल पाण्डे
नुवाकोट । अमेरिकामा बस्दै आएका वरिष्ठ समाजसेवी तथा व्यवसायी अनिल पाण्डेले नुवाकोटको बेत्रावती क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत सहयोग गर्ने बताएका छन्।
पाण्डेका अनुसार आफूहरू प्रभावित क्षेत्रमै पुगेर बेत्रावतीका १०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गर्ने अवसर प्राप्त भएको हो। प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका परिवारको अवस्था बुझ्दै उनीहरूको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले राहत वितरण गर्न लागिएको उनले बताएका छन्।
पाण्डेले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा पीडित परिवारसँग प्रत्यक्ष रूपमा जोडिन पाउनु र उनीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउन सक्नु मानवीय दायित्व भएको उल्लेख गरेका छन्।
विदेशमा रहेर पनि नेपालमा आइपर्ने प्राकृतिक विपत्तिमा निरन्तर सहयोग गर्दै आएका पाण्डेको यो अभियानले बाढीपीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
बेत्रावती क्षेत्रमा पछिल्लो समय आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विभिन्न संघसंस्था, व्यवसायी तथा प्रवासी नेपालीहरू राहत तथा पुनःस्थापनाको अभियानमा जोडिँदै आएका छन्। पाण्डेको पहल पनि यही मानवीय अभियानको एक महत्वपूर्ण हिस्सा बन्ने देखिएको छ।