काठमाडौं । गैरआवासीय नेपाली संघ Non-Resident Nepali Association (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले संस्थामा एकता र सहकार्यको वातावरण निर्माण गर्दै नयाँ अध्याय सुरु गर्न सफल भएको बताइएको छ।
काठमाडौंस्थित The Soaltee Kathmanduमा सम्पन्न १२औँ विश्व सम्मेलन सफलतापूर्वक आयोजना गर्दै उनीहरूले एनआरएनए आईसीसीलाई नयाँ दिशातर्फ अग्रसर गराएको मूल्यांकन गरिएको छ। उक्त सम्मेलनले लामो समयदेखि विभिन्न कारणले विभाजित र कमजोर बनेको संस्थालाई पुनः एकताबद्ध गर्ने आधार तयार गरेको बताइन्छ।
वर्तमान अध्यक्ष डा. हेमराज शर्मा र वरिष्ठ उपाध्यक्ष रोविन सेरचनको नेतृत्वमा संस्थालाई एकढिक्का बनाउनसमेत केसी र श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ।
संस्थाभित्र इगो र व्यक्तिगत स्वार्थका कारण उत्पन्न विखण्डनलाई अन्त्य गर्दै टुटेका सम्बन्धहरू जोड्न, आन्तरिक विवाद समाधान गर्न र सहकार्यको वातावरण बनाउन उनीहरूले धैर्यता, संयमता र प्रतिबद्धताका साथ काम गरेको सरोकारवालाहरूको भनाइ छ। कठिन परिस्थितिमा समेत आलोचना, गाली र दबाब सहेर संस्थागत एकताको पक्षमा उभिएको उनीहरूको योगदानलाई ऐतिहासिक रूपमा मूल्यांकन गरिएको छ।
एनआरएनएजस्तो अन्तर्राष्ट्रिय संस्थालाई पुनः सुदृढ र एकीकृत बनाउने अभियानमा उनीहरूले खेलेको भूमिका संस्था र इतिहास दुवैका लागि स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ। साथै, उनीहरूको योगदानप्रति हृदयदेखि सम्मान र धन्यवाद व्यक्त गरिएको छ।