काठमाडौं । फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन निर्वाचन आयोग नेपाल ले विभिन्न महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। आयोगले निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल सरकार सँग आवश्यक सहजीकरणका लागि अनुरोधसमेत गरेको जनाएको छ।
आयोगका अनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचार–प्रसार पूर्ण रूपमा बन्द हुनेछ। सो समयपछि कुनै पनि उम्मेदवार वा दलले प्रचार गतिविधि सञ्चालन गर्न पाउने छैनन्।
त्यसैगरी मतदानको ७ दिन अगाडिदेखि मतगणना परिणाम सार्वजनिक नहुँदासम्म मदिरा बिक्री तथा सेवनमा पूर्ण रोक लगाइने निर्णय गरिएको छ। निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न यो व्यवस्था गरिएको आयोगले जनाएको छ।
यातायात व्यवस्थापनतर्फ, फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझसम्म अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइनेछ। तर, निर्वाचनकै दिन आन्तरिक (Domestic) तथा अन्तर्राष्ट्रिय (International) उडानहरू नियमित सञ्चालन हुनेछन्। विमानस्थल आवत–जावत गर्ने यात्रुले अनिवार्य रूपमा आफ्नो टिकट साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
सुरक्षा व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमाहरू अस्थायी रूपमा बन्द गर्ने तयारी गरिएको छ।
मतदानका लागि मतदाता नामावलीमा नाम भएका नागरिकले परिचय खुल्ने प्रमाणसहित मतदान गर्न पाउनेछन्। मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गाधनी लालपुर्जा वा पासपोर्टमध्ये कुनै एक प्रमाणपत्र प्रस्तुत गरी मतदान गर्न सकिने आयोगले स्पष्ट पारेको छ।
आगामी निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय बनाउन आयोगका यी निर्णयहरू महत्त्वपूर्ण मानिएको छ।