अनेसास अमेरिका क्षेत्रको उपाध्यक्षमा गीता बजगाईलाई जिताउन श्रीराम थापाको अपिल

theoutsidenepal.com

अनेसास अमेरिका क्षेत्रको उपाध्यक्षमा गीता बजगाईलाई जिताउन श्रीराम थापाको अपिल


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिका क्षेत्रको उपाध्यक्ष पदका उम्मेदवार गीता बजगाईलाई अत्यधिक मतका साथ विजयी गराउन श्रीराम थापाले साहित्यप्रेमी तथा मतदातासमक्ष हार्दिक अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अपिलमा थापाले गीता बजगाई नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि समर्पित व्यक्तित्व भएको उल्लेख गरेका छन्। गोरखामा जन्मिएकी बजगाई हाल अमेरिकाको क्यालिफोर्नियामा रहेर नेपाली भाषा, साहित्य र समुदाय सेवामा सक्रिय रहेको उनले बताएका छन्।


थापाका अनुसार बजगाईले सन् २०१६ देखि २०२४ सम्म क्यालिफोर्नियामा नेपाली भाषा विद्यालयको संस्थापक शिक्षकका रूपमा नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। अनेसासमा आजीवन सदस्य, च्याप्टर उपाध्यक्ष, क्यालिफोर्निया च्याप्टर अध्यक्ष, केन्द्रीय बाल समिति सदस्य तथा केन्द्रीय महिला समितिको सचिवका रूपमा समेत उनले सफल नेतृत्व प्रदान गरिसकेकी छन्।

उनले एनआरएनए क्यालिफोर्निया च्याप्टरमा महिला संयोजक, उपाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै समुदाय सेवामा पनि उल्लेखनीय योगदान दिएको थापाले उल्लेख गरेका छन्। साथै, “रमाइलो नेपाली” पाठ्यपुस्तक, “पाउँटा” गीति एल्बम, बाल लोरी तथा मुक्तक संग्रहजस्ता साहित्यिक कृतिमार्फत नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएको पनि उनले बताएका छन्।

थापाले यो निर्वाचन केवल पदको प्रतिस्पर्धा नभई नेपाली भाषा, साहित्य र पहिचानलाई थप सशक्त बनाउने नेतृत्व चयनको अवसर भएको उल्लेख गर्दै अनुभव, समर्पण र सेवाभावले भरिपूर्ण गीता बजगाईलाई आफ्नो अमूल्य मत प्रदान गरी अत्यधिक मतले विजयी गराउन सबै मतदातासँग अनुरोध गरेका छन्।


प्रतिक्रिया