अमेरिकाबाट हेम थापाको कडा सन्देश—“भ्रष्टाचारको जरो उखेल्न सम्पत्ति छानबिन अनिवार्य”

theoutsidenepal.com

अमेरिकामा रहँदै आएका बरिष्ठ समाजसेवी हेम थापा ले नेपालमा बढ्दो भ्रष्टाचार र दलाली प्रवृत्तिविरुद्ध कडा आवाज उठाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा (स्टाटस) मा उनले देशका विभिन्न क्षेत्रमा फैलिएको भ्रष्टाचार नियन्त्रणका लागि व्यापक स्तरमा सम्पत्ति छानबिन आवश्यक रहेको बताएका छन्।


थापाका अनुसार नेपालमा “लाखौँको संख्यामा भ्रष्टाचारी र दलाल सक्रिय” रहेको दाबी गर्दै उनले यिनीहरू मात्र नभई उनीहरूका आफन्त, नाता–सम्बन्धीहरूसम्मको सम्पत्ति खोजी गर्नुपर्ने बताएका छन्। “भ्रष्टाचारको जालो तोड्न यसको जरोसम्म पुग्नैपर्छ,” उनले उल्लेख गरेका छन्।


उनले विशेष रूपमा विदेशमा राखिएको नेपाली धनप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्। Switzerland का बैंकहरूमा नेपालीहरूको करिब ६५ अर्ब रुपैयाँभन्दा बढी रकम रहेको उल्लेख गर्दै उक्त रकम नेपाल फर्काउन सरकार गम्भीर पहल गर्नुपर्ने उनको माग छ।


त्यसैगरी, उनले देशभित्र सञ्चालनमा रहेका संघ–संस्था, आश्रम, NGO तथा INGO हरू, समाजसेवी तथा अभियन्ताहरूको समेत सम्पत्ति छानबिन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। “पारदर्शिता र जवाफदेहिता सुनिश्चित नगरी देश विकास सम्भव छैन,” थापाले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।


सरकारले यस्ता कदम चाल्ने हो भने आफू पूर्ण रूपमा समर्थनमा उत्रिने उनले प्रतिबद्धता जनाएका छन्। विशेष गरी रवि लामिछाने, बालेन शाह र सुधन किराती जस्ता नेताहरूले नेतृत्व लिएर भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्नुपर्ने उनको अपेक्षा छ।


“यदि सरकार यस दिशामा अघि बढ्छ भने म व्यक्तिगत रूपमा भेटेर समर्थन गर्नेछु, खुट्टा दोगेर साथ दिनेछु,” थापाको भनाइ छ।


उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ भने देशभित्र र बाहिर रहेका नेपालीबीच भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने बहसलाई थप बल दिएको छ।


प्रतिक्रिया