नेपाली कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाउँदै १५औँ महाधिवेशन सफल पारौँ : नेतृ रबिना थापा
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसकी नेतृ रबिना थापाले नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै पार्टीको १५औँ महाधिवेशन सफल पार्न सबै नेता–कार्यकर्तालाई आह्वान गरेकी छन्।
थापाले सामाजिक सञ्जालमार्फत देशको भविष्य र भाग्य निर्माण गर्ने जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्दै कठिन परिस्थितिमा नेपाली कांग्रेस एकजुट भएर राष्ट्र र जनताको पक्षमा दृढताका साथ अघि बढ्दै आएको बताएकी छन्।
उनले पार्टीभित्रका मतभेद तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकता, सहकार्य र देश विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्। सबै तहका नेता तथा कार्यकर्ता एकजुट भएर कांग्रेसलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ छ।
नेतृ थापाले समृद्ध, न्यायपूर्ण र सक्षम नेपाल निर्माणका लागि नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउनुपर्ने धारणा राख्दै १५औँ महाधिवेशनलाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छन्।
“देशको भाग्य र भविष्य हामी आफैँ निर्माण गरौँ” भन्ने सन्देशसहित उनले कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेकी छन्।