प्रतिनिधिसभामा प्रभा कार्कीको प्रवेश, जनविश्वासलाई कार्यमार्फत प्रमाणित गर्ने प्रतिबद्धता

theoutsidenepal.com

काठमाडौँ — प्रभा कार्की प्रतिनिधिसभा सदस्यका रूपमा संसदमा प्रवेश गरेसँगै जनताको विश्वास र भरोसालाई मूर्त रूप दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले आफ्नो यो उपलब्धिलाई केवल व्यक्तिगत सफलता नभई थप जिम्मेवारीको रूपमा लिएको बताएकी छन्।


कार्कीले आफ्नो काधमा आएको जिम्मेवारीलाई ज्ञान, क्षमता र अनुभवका आधारमा प्रभावकारी रूपमा निर्वाह गर्ने स्पष्ट प्रतिबद्धता जनाएकी छन्। “संसदीय गतिविधिहरूमा सक्रिय र प्रभावकारी भूमिका खेल्दै जनताको अपेक्षालाई सम्बोधन गर्नेछु,” उनले उल्लेख गरेकी छन्।


उनले नेपाली जनताले खोजेको परिवर्तनको आवाजलाई बुलन्द बनाउने, पदीय मर्यादा कायम राख्ने तथा पारदर्शिता र इमानदारितासहित जनसेवामा समर्पित रहने अठोट व्यक्त गरेकी छन्। साथै, संसदीय अभ्यासलाई अझ सुदृढ र प्रभावकारी बनाउन आफ्नो तर्फबाट महत्वपूर्ण योगदान रहने विश्वास पनि दिलाएकी छन्।


कार्कीले नागरिकको दुःख–सुखमा सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याउँदै आफ्नो कार्यकाललाई जनमुखी र परिणाममुखी बनाउने संकेत दिएकी छन्।


उनको संसद प्रवेशसँगै समर्थक तथा शुभेच्छुकहरूबाट शुभकामनाको ओइरो लागिरहेको छ, जसले उनको आगामी राजनीतिक यात्रालाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।


प्रतिक्रिया