द टन न्युज ,काठमाडौं । गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरणसँग जोडिएको २५ लाख रुपैयाँ बराबरको सेयर प्रकरणलाई लिएर सार्वजनिक बहस तीव्र भइरहेका बेला वरिष्ठ समाजसेवी नारायण समाजसेवीको धारणा सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।
उनले आफ्नो स्टाटसमार्फत सेयर खरिदकै आधारमा मात्रै प्रश्न उठेको भए त्यति ठूलो चासोको विषय नबन्ने उल्लेख गर्दै मन्त्रीको सम्पत्ति विवरणमा उक्त सेयर नदेखिनुले भने स्वाभाविक रूपमा प्रश्न उठ्ने बताएका छन्। साथै, यसमा नैतिक जिम्मेवारीको पक्ष पनि जोडिने उनको भनाइ छ।
तर, समग्र सन्दर्भलाई हेर्दा यही विषयलाई आधार बनाएर गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने भन्दै भइरहेको ‘फण्डा’ र मिडिया ट्रायल भने सरासर गलत भएको उनको स्पष्ट धारणा छ।
समाजसेवी नारायणले तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै हतारमा निष्कर्ष निकाल्ने प्रवृत्तिले राजनीतिक तथा सामाजिक वातावरण नै प्रभावित हुने चेतावनी दिएका छन्।
उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र विरोध दुबै प्रतिक्रिया देखिएका छन् भने यस विषयमा थप बहस र चासो बढ्दै गएको छ।