एनआरएनए एसिया–प्यासिफिक सम्मेलन सफल बनाउन मकाउ अध्यक्ष युवराज न्यौपानेको महत्वपूर्ण भूमिका
ग्वाङझाउ, चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सफल बनाउन एनआरएनए एनसीसी मकाउका अध्यक्ष युवराज न्यौपानेको पनि महत्वपूर्ण भूमिका रहेको छ। ‘आरोहण २०२६– सँगै उठौँ, अगाडि बढौँ’ भन्ने नाराका साथ अगस्ट १४ देखि १६ सम्म चीनको ग्वाङझाउमा सम्पन्न सम्मेलनमा अध्यक्ष न्यौपानेले मकाउको प्रतिनिधित्व गर्दै सक्रिय सहभागिता जनाउनुभएको थियो।
सम्मेलनमा विश्वका विभिन्न मुलुकबाट आएका ५०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो। नेपालका प्रमुख राजनीतिक दलका प्रतिनिधि, एनआरएनए अभियन्ता, कूटनीतिक अधिकारी, सामाजिक अगुवा तथा सञ्चारकर्मीहरूको सहभागितामा सम्पन्न सम्मेलनबाट प्रवासी नेपालीका विभिन्न सरोकार समेटिएको २१ बुँदे ‘ग्वाङझाउ घोषणापत्र–२०२६’ समेत जारी गरिएको छ।
सम्मेलनमा अध्यक्ष न्यौपानेको सहभागितालाई मकाउमा रहेका नेपालीको आवाजलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। प्रवासमा रहेका नेपालीका समस्या, अधिकार, रोजगारी, सामाजिक सुरक्षा, लगानी, व्यवसाय, सीप तथा नेपालसँगको सम्बन्धका विषयमा हुने छलफलमा मकाउमा रहेका नेपालीका सवाललाई समेत जोड्ने प्रयास उहाँले गर्नुभएको थियो।
मकाउमा एनआरएनएको उचाइ बढाउँदै न्यौपाने
एनआरएनए एनसीसी मकाउको नेतृत्व सम्हालेदेखि नै अध्यक्ष युवराज न्यौपानेले मकाउमा रहेका नेपालीको हित, एकता, सामाजिक सुरक्षा तथा समुदायको संस्थागत विकासका विषयलाई प्राथमिकतामा राख्दै आएको बताइन्छ।
मकाउमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउने, समस्यामा परेका नेपालीलाई सहयोग गर्ने, नेपालसँगको सम्बन्धलाई बलियो बनाउने तथा नेपाली कला, संस्कृति र पहिचानको संरक्षण एवं प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका न्यौपानेको नेतृत्वमा एनआरएनए एनसीसी मकाउले आफ्नो संस्थागत उचाइलाई थप मजबुत बनाएको छ।
मकाउमा रहेका नेपालीको आवाजलाई एनआरएनएको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने र प्रवासी नेपालीका साझा मुद्दामा प्रभावकारी पैरवी गर्ने विषयमा समेत उहाँले सक्रियता देखाउँदै आउनुभएको छ।
सम्मेलन सफल बनाउन मकाउबाट पनि सक्रिय योगदान
ग्वाङझाउ सम्मेलनमा मकाउबाट प्रतिनिधित्व गर्दै सहभागी भएका अध्यक्ष न्यौपानेले सम्मेलनको उद्देश्य र एजेन्डालाई सफल बनाउन आफ्नोतर्फबाट सक्रिय योगदान गर्नुभएको थियो। विभिन्न देशबाट आएका एनआरएनए अभियन्ता तथा प्रतिनिधिसँग भेटघाट र छलफल गर्दै प्रवासी नेपालीका साझा समस्या तथा सम्भावनाका विषयमा विचार आदानप्रदानसमेत गर्नुभएको थियो।
सम्मेलनले नेपाल र प्रवासबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै गैरआवासीय नेपालीको ज्ञान, सीप, लगानी र अनुभवलाई नेपालको विकाससँग जोड्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ। यस अभियानमा मकाउमा रहेका नेपालीलाई समेत प्रभावकारी रूपमा जोड्ने विषयमा न्यौपानेले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अध्यक्ष न्यौपानेको सक्रिय सहभागिताले एनआरएनए एनसीसी मकाउको उपस्थिति र संस्थागत पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइ दिएको एनआरएनए मकाउसँग आबद्ध नेपालीहरूको भनाइ छ।
मकाउमा नेपाली समुदायको हितमा निरन्तर सक्रिय रहँदै आएका न्यौपानेले ग्वाङझाउ सम्मेलनलाई केवल एउटा क्षेत्रीय कार्यक्रमका रूपमा नभई विश्वभरका नेपालीलाई साझा मुद्दामा जोड्ने महत्वपूर्ण मञ्चका रूपमा लिँदै आगामी दिनमा पनि नेपाली समुदायको हित र नेपालको समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।