नेपाली आकाशमा नयाँ प्रतिस्पर्धा: डाँफे एयरलाइन्स दशैंदेखि उडानमा, आधुनिक जहाजसहित आक्रामक प्रवेश

theoutsidenepal.com

नेपाली आकाशमा नयाँ प्रतिस्पर्धा: डाँफे एयरलाइन्स दशैंदेखि उडानमा, आधुनिक जहाजसहित आक्रामक प्रवेश


काठमाडौं । नेपालको आन्तरिक हवाई बजारमा नयाँ ऊर्जा थप्दै ‘डाँफे एयरलाइन्स’ले औपचारिक रूपमा सेवा सञ्चालनको तयारी थालेको छ। आक्रामक बजार विस्तारको रणनीतिसहित अघि बढेको यस कम्पनीले आगामी दशैंलाई लक्षित गर्दै असोज महिनादेखि नियमित उडान सुरु गर्ने योजना सार्वजनिक गरेको हो।


सन् २०२३ मा सिंगल इन्जिन वायुसेवा ‘मकालु एयर’ खरिद गरी नयाँ व्यवस्थापनसहित पुनःसंरचना गरिएको डाँफे एयरलाइन्सले अब अत्याधुनिक सेवा र प्रविधि ल्याउने तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट ‘नो अब्जेक्सन लेटर (एनओसी)’ प्राप्त गरिसकेको कम्पनीले एटीआर ७२–६०० सिरिजका आधुनिक जहाज भित्र्याउने प्रक्रिया अघि बढाइसकेको छ।


कम्पनीका अनुसार, सेवा सुरु गरेको तीन वर्षभित्र ७ वटा एटीआर र ३ वटा जेटस्ट्रिम जहाज सञ्चालनमा ल्याउने महत्वाकांक्षी लक्ष्य राखिएको छ। पहिलो चरणमा भने दशैंअघि नै कम्तीमा तीनवटा जहाजमार्फत उडान सुरु गरिनेछ। डाँफेका जहाजहरूमा अत्याधुनिक ‘ग्लास ककपिट’ प्रविधि, साथै यात्रुको सहजताका लागि ८–१० प्रिमियम सिटको विशेष सुविधा उपलब्ध हुनेछ।


डाँफे एयरलाइन्सले पोखरा लाई आफ्नो आधार विमानस्थल बनाउँदै प्रादेशिक कनेक्टिभिटीमा नयाँ आयाम थप्ने रणनीति बनाएको छ। पोखराबाट महेन्द्रनगर, भद्रपुर, भरतपुर, भैरहवा र सिमरा जस्ता प्रमुख सहरहरूमा सिधा उडान गर्ने योजना छ। साथै काठमाडौं बाट देशभरका विभिन्न गन्तव्यहरूमा सेवा विस्तार गरिनेछ।


छोटो धावनमार्ग भएका विमानस्थलहरू जस्तै भरतपुर, सिमरा र तुम्लिङटारका लागि जेटस्ट्रिम जहाज प्रयोग गरिनेछ भने अन्य प्रमुख गन्तव्यहरूमा एटीआर विमान सञ्चालन गरिने कम्पनीले जनाएको छ। डाँफेले माउन्टेन क्षेत्रदेखि तराईसम्मका प्रमुख शहरहरू—भद्रपुर, विराटनगर, जनकपुर, नेपालगन्ज, सुर्खेत र धनगढी—मा उडान योजना पेश गरिसकेको छ।


लामो समयदेखि बजारमा प्रभुत्व जमाउँदै आएका बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्स जस्ता स्थापित कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै डाँफेले यात्रुलाई गुणस्तरीय, सुरक्षित र आधुनिक सेवा दिने लक्ष्य लिएको छ।


उड्डयन प्राधिकरणको नियमअनुसार एनओसी प्राप्त गरेपछि एक वर्षभित्र जहाज भित्र्याउनुपर्ने प्रावधान रहेको छ, जसअनुसार डाँफेले तीव्र गतिमा तयारी अघि बढाएको देखिन्छ।


नयाँ सोच, नयाँ सेवा र आधुनिक प्रविधिसहित ‘डाँफे एयरलाइन्स’को प्रवेशले नेपालको आन्तरिक उड्डयन क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ। यात्रुका लागि यो विकल्प मात्र होइन, गुणस्तर र सेवामा सुधारको संकेत पनि हो।


प्रतिक्रिया