समयमै निर्माण सम्पन्न नभएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले महिला विश्वकप आयोजना गर्ने अवसर गुमायो
चितवन, भरतपुर — समयमै निर्माण कार्य सम्पन्न हुन नसक्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले महिला विश्वकप क्रिकेटका खेल आयोजना गर्ने महत्वपूर्ण अवसर गुमाएको छ।
दुई वर्षअघि भरतपुर मेयर कपको प्रमुख अतिथिका रूपमा चितवन आएका नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्काले तत्कालीन मेयर रेनु दाहाल तथा उपमेयर चित्रसेन अधिकारीसँग भरतपुरमा महिला विश्वकप क्रिकेटका खेलहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर रंगशालाको निर्माण कार्य निर्धारित समयमै पूरा हुन नसकेपछि उक्त सम्भावना टरेको हो।
निर्माणको जिम्मा पाएको हिमालयन बिल्डर्सले पुस मसान्तसम्मको म्याद पाएको भए पनि हालसम्म करिब ५० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको जनाइएको छ। ढिलाइका कारण अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक पूर्वाधार तयार हुन नसक्दा विश्वकप आयोजना गर्ने अवसर गुमेको बताइएको छ।
यद्यपि, भरतपुर महानगरपालिकाका खेलकुद सल्लाहकार तथा बागमती प्रदेश क्रिकेट निर्देशक अनिल अधिकारीले हाल उपलब्ध नमुना क्रिकेट मैदानलाई आवश्यक स्तरोन्नति गरी महिला विश्वकपका केही मैत्रीपूर्ण खेल भरतपुरमा आयोजना गर्न सकिने सम्भावनाबारे नेपाल क्रिकेट संघसँग छलफल गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
स्थानीय खेलप्रेमी तथा सरोकारवालाले रंगशालाको निर्माण कार्यलाई तीव्रता दिई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्, ताकि भविष्यमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू आयोजना गर्ने अवसर पुनः प्राप्त गर्न सकियोस्।