प्रचार अवधि सकिँदै गर्दा कैलाली–५ मा प्रेमबहादुर आलेको भावनात्मक अपिल

theoutsidenepal.com

प्रचार अवधि सकिएसँगै कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा उम्मेदवार प्रेमबहादुर आले ले मंगलबार बिहानै मतदातासँग भावनात्मक अपिल गर्नुभएको छ।


“एकपटक छातीमा हात राखेर सोचिदिनुहोस्,” भन्दै उहाँले आफ्नो विगतका काम, संघर्ष र योगदानको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गर्नुभएको छ। धनगढी र सुदूरपश्चिमको विकासका लागि आफूले खेलेको भूमिकालाई स्मरण गराउँदै आलेले जनताको साथ र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो।


उहाँका अनुसार धनगढीबाट हुने हवाई यात्रालाई सहज र सर्वसुलभ बनाउन प्लेन भाडा घटाउने पहल, धनगढी विमानस्थलमा दुईवटा जहाज साँझ अनिवार्य बस्ने व्यवस्था मिलाउने प्रयास, पहाडी जिल्लामा हवाई सेवा विस्तार तथा बन्द अवस्थामा रहेका विमानस्थल पुनः सञ्चालनमा ल्याउने काम आफूले अघि बढाएको दाबी गर्नुभयो। सुदूरपश्चिमलाई यातायात पहुँचमा जोड्ने अभियानमा आफ्नो नेतृत्व निर्णायक रहेको उहाँको भनाइ छ।


त्यस्तै, “वैज्ञानिक वन” का नाममा भइरहेको अनियमितता रोक्न पहल गरेको, नारायणहिटी दरबार क्षेत्र र पशुपति क्षेत्रको जग्गा सेटिङ नियन्त्रणमा भूमिका खेलेको तथा सही कुराका लागि आफ्नै दलको नेतृत्वविरुद्ध समेत उभिएको साहसिक निर्णयको प्रसंग पनि उहाँले स्मरण गराउनुभयो।


कोरोना महामारीको कठिन घडीमा व्यक्तिगत ५० लाख रुपैयाँ खर्च गरेर अक्सिजन सिलिन्डर र मास्क डोटी अस्पताल र सेती प्रादेशिक अस्पताललाई सहयोग गरेको उल्लेख गर्दै आलेले संकटका बेला जनताको जीवनरक्षा आफ्नो पहिलो दायित्व ठानेको बताउनुभयो। “संकटमा साथ दिने नेता नै साँचो प्रतिनिधि हो,” उहाँको भनाइ थियो।


गरीब, विपन्न र बिरामी नागरिकका लागि सधैं उपस्थित रहने प्रतिबद्धता दोहोर्याउँदै उहाँले आगामी दिनमा अझ इमान्दार, निडर र जनमुखी भएर काम गर्ने वाचा गर्नुभएको छ।


“मिलेका अवसरमा सधैं जनताकै लागि काम गरेको छु, अझै गर्नेछु,” भन्दै प्रेमबहादुर आलेले कैलाली–५ का मतदातासँग पुनः समर्थनको अपिल गर्नुभएको छ। चुनावी प्रतिस्पर्धाको अन्तिम घडीमा उहाँको भावनात्मक सन्देशले क्षेत्र नम्बर–५ मा चुनावी माहोल अझ तताएको राजनीतिक वृत्तको विश्लेषण छ।


प्रतिक्रिया