प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने, टेन्डर प्रणाली हटाइँदै

theoutsidenepal.com

प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने, टेन्डर प्रणाली हटाइँदै


काठमाडौं । सरकारले प्रहरी कर्मचारीलाई पोसाक खर्चबापत नगद रकम उपलब्ध गराउने तयारी गरेको छ। हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर आह्वान गर्ने व्यवस्था रहेकोमा अब त्यसलाई हटाएर नगद दिने प्रणाली लागू गर्न लागिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिनुभएको छ।


बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले प्रहरी पोसाक खरिद प्रक्रियामा पटक–पटक अनियमितता र भ्रष्टाचारको आरोप लाग्दै आएको उल्लेख गर्नुभयो।


उहाँले भन्नुभयो, “प्रहरीको पोसाक खरिदका लागि टेन्डर हुने र यसमा धेरै भ्रष्टाचार हुने कुरा देखिएको छ। अब यसको सट्टा हामी नगद नै दिने तयारी गरिरहेका छौँ।”


गृहमन्त्री गुरुङका अनुसार नगद भत्ता उपलब्ध गराएपछि प्रहरी कर्मचारीले आवश्यक मापदण्डअनुसार आफैँ पोसाक खरिद गर्न सक्नेछन्। यसले खरिद प्रक्रियालाई थप पारदर्शी, सरल र प्रभावकारी बनाउने सरकारको विश्वास रहेको छ।


सरकारको यो तयारी कार्यान्वयनमा आएपछि प्रहरी पोसाक खरिदसम्बन्धी हालको टेन्डर प्रणालीमा परिवर्तन आउनेछ भने सार्वजनिक खरिद प्रक्रियासँग जोडिएका विवाद र अनियमितता नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया