फाल्गुन २१, २०८२ — Association of Nepalis in the Americas (एएनए) का अध्यक्ष खगेन्द्र अधिकारी ले नेपालमा सम्पन्न प्रतिनिधि सभा आम निर्वाचनलाई ऐतिहासिक र सफल कदमको रूपमा उल्लेख गरेका छन्।
जारी प्रेस विज्ञप्तिमा उनले देशको विषम परिस्थितिमा पनि सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले समयमै निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराएर महत्वपूर्ण इतिहास रचेको बताएका छन्।
अध्यक्ष अधिकारीका अनुसार कठिन राजनीतिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बीच पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउँदै मतदातालाई भयरहित रूपमा मतदान गर्ने वातावरण सिर्जना गरेको थियो। उनले यसलाई लोकतन्त्रप्रति नेपाली जनताको विश्वास जोगाउने महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
प्रेस विज्ञप्तिमा भनिएको छ कि लोकतन्त्रमा निर्वाचन रोकिन नसक्ने र जनताको अधिकार कसैले खोस्न नसक्ने दृढ अडानका साथ सरकारले काम गरेकै कारण आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो।
Association of Nepalis in the Americas [ANA] का तर्फबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री कार्की र उनको मन्त्रिपरिषद्को साहस, इमानदारिता र निरन्तर प्रयासकै कारण देश ठूलो राजनीतिक संकटबाट जोगिएको दाबी गरिएको छ।
अध्यक्ष अधिकारीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्लाई धन्यवाद दिँदै आगामी दिनमा नेपालको लोकतान्त्रिक यात्रा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
एएनए (ANA) बाट जारी गरिएको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै सम्प्रेषित गरिएको छ ।