मीन बहादुर गुरुङद्वारा बाल अस्पताललाई ७१ करोडभन्दा बढी सहयोग
काठमाडौं — मीन बहादुर गुरुङले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) अन्तर्गत निर्माणाधीन बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेका छन्।
गुरुङले किओच बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि उक्त रकम दान गरेका हुन्। अस्पताल प्रशासनका अनुसार नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम जेठ ९ गते आयोजना गरिनेछ।
अस्पतालले जनाएको अनुसार अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगेको भए पनि एमआरआई र सिटी स्क्यान मेसिन अभावका कारण अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन अझै बाँकी छ। आवश्यक उपकरण खरिदका लागि हालसम्म २ करोड २४ लाख ७३ हजार ३३३ रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भइसकेको छ।
डा. भगवान कोइरालाको नेतृत्वमा देशका सातै प्रदेशमा सात वटा बाल अस्पताल स्थापना गर्ने लक्ष्य अघि बढाइएको छ। निर्माणाधीन अस्पतालले विशेषगरी जटिल रोगबाट पीडित बालबालिकालाई स्वदेशमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।
अस्पताल प्रशासनले नेपालमा विशेषज्ञ बाल स्वास्थ्य सेवाको अभावलाई सम्बोधन गर्न यो परियोजना महत्वपूर्ण रहेको उल्लेख गर्दै मीन बहादुर गुरुङको सहयोगले अभियानलाई ठूलो टेवा पुगेको जनाएको छ।