बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह धरौटी बुझाएर रिहा
काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर रिहा भएका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहले मुद्दाको बिगो बराबर धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा भएका हुन्। प्रहरीले अनुसन्धान जारी रहेको र आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडिएको जनाएको छ।
प्रवक्ता भट्टराईले भने, “उहाँले बिगो बराबरको धरौटी बुझाएपछि छुट्नुभएको हो। हाजिर जमानीमा छोडिएको छ। अनुसन्धान जारी छ र बोलाएको बेला उपस्थित हुनुहुन्छ।”
यसअघि जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि प्रहरीले शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रमानन्द चोकबाट सेफ सन्तोष साहलाई पक्राउ गरेको थियो। उनीसँगै सिराहाको कर्जन्हा नगरपालिका–९ निवासी ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए।
प्रहरीका अनुसार नारायण साह सुडी पनि धरौटी प्रक्रिया पूरा गरेपछि रिहा भएका छन्। यद्यपि, दुवै विरुद्धको बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।
सेफ सन्तोष साह नेपाली पाककलाका क्षेत्रमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्। उनको पक्राउ र रिहाइको घटनाले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा व्यापक चर्चा पाएको छ।