पुरानो भिडियो भाइरल भएपछि सांसद सृष्टि भट्टराईको स्पष्टीकरण, ‘यो निजी समयको सामान्य क्षण थियो’

theoutsidenepal.com

पुरानो भिडियो भाइरल भएपछि सांसद सृष्टि भट्टराईको स्पष्टीकरण, ‘यो निजी समयको सामान्य क्षण थियो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराई ले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो पुरानो भिडियोबारे स्पष्टीकरण दिएकी छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत यात्राका क्रममा खिचिएको पुरानो भिडियो रहेको बताएकी छन्। भिडियोमा आफू चालक नभई यात्रुको रूपमा रहेको र केही समय कारको झ्यालबाट बाहिर हेर्दै रमाइलो गरिरहेको दृश्य मात्र देखिएको उनको भनाइ छ।

उनले उक्त भिडियो आफ्नो वर्तमान सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको स्पष्ट पार्दै यसलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुने उल्लेख गरेकी छन्।

भट्टराईले सार्वजनिक पदमा रहेका व्यक्तिहरूप्रति नागरिकको चासो स्वाभाविक भए पनि सार्वजनिक जिम्मेवारीमा रहेकै कारण व्यक्तिले निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउने नसक्ने बताएकी छन्। आफू सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक भएको र अन्य नागरिकसरह निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार रहेको उनको धारणा छ।

सांसद भट्टराईले भिडियोमा देखिएको व्यवहार ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुन सक्ने स्वीकार गर्दै जीवनका विभिन्न चरणमा धेरै मानिसले यस्ता अनुभव गर्ने गरेको उल्लेख गरेकी छन्। साथै उनले सडक सुरक्षा र ट्राफिक नियमको पालना सबैको साझा जिम्मेवारी भएको बताउँदै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने र सबैलाई सुरक्षित यात्रा गर्न आग्रह गरेकी छन्।

उनले कुनै छोटो भिडियो वा सीमित दृश्यका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारीबोध वा सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन गर्नु भन्दा समग्र कार्यसम्पादन, व्यवहार र योगदानका आधारमा मूल्याङ्कन हुनुपर्ने धारणा पनि राखेकी छन्।

भट्टराईले आफू जनताको विश्वासप्रति प्रतिबद्ध रहेको बताउँदै इमान्दारिता, जवाफदेहिता र समर्पणका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।


प्रतिक्रिया