गृहमन्त्री सुधन गुरुङको एक्सन: झापामा डीएसपीको मोबाइल नियन्त्रणमा, ११ सुरक्षाकर्मी र सीडीओसमेत अनुसन्धानको दायरामा
झापा । गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा नाकाको स्थलगत निरीक्षण गरेसँगै त्यहाँ कार्यरत सुरक्षा निकाय र प्रशासनिक अधिकारीहरूमाथि छानबिन सुरु भएको छ।
स्थानीयले सीमा क्षेत्रमा तस्करी मौलाएको र त्यसमा सुरक्षा निकायका केही अधिकारीको संलग्नता रहेको गुनासो गरेपछि गृहमन्त्री गुरुङले तत्काल कडा कदम चालेका हुन्। सो क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं तथा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट काँकडभिट्टाका डीएसपी विकास थापाको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।
उच्च स्रोतका अनुसार नेपाल प्रहरीका ५ जना र सशस्त्र प्रहरीका ६ जना गरी कुल ११ जना सुरक्षाकर्मीमाथि तस्करीमा सहयोग गरेको तथा आर्थिक लाभ लिएको आरोपमा छानबिन सुरु गरिएको छ।
यसबाहेक, सीमा नाकाको समग्र प्रशासनिक जिम्मेवारीका कारण झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत अनुसन्धानको दायरामा तानिएको स्रोतको दाबी छ। अनुसन्धानका क्रममा मोबाइल कल विवरण, आर्थिक कारोबार तथा तस्करीसँग सम्बन्धित अन्य प्रमाणहरू समेत परीक्षण गरिने बताइएको छ।
गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट गर्दै दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने संकेत दिएका छन्।
यस घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयभित्र व्यापक हलचल सिर्जना भएको छ।