धनकुटाको ग्राउन्ड जिरोमा डा. सुनील शर्मा : पैदल यात्रामै कांग्रेसको महाधिवेशन र समसामयिक राजनीतिबारे गहन मन्थन

theoutsidenepal.com

धनकुटाको ग्राउन्ड जिरोमा डा. सुनील शर्मा : पैदल यात्रामै कांग्रेसको महाधिवेशन र समसामयिक राजनीतिबारे गहन मन्थन

द टन न्युज । धनकुटा ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस नेता तथा जी.पी. कोइराला फाउन्डेसनका सभापति डा. सुनील शर्मा धनकुटाको ग्राउन्ड जिरोमा पुगेर पार्टीको संगठन, समसामयिक राजनीतिक घटनाक्रम तथा आसन्न महाधिवेशनबारे प्रत्यक्ष संवादमा जुटेका छन्।

धनकुटाको हिले बजारदेखि उत्तरपानीसम्मको पैदल यात्रालाई डा. शर्माले राजनीतिक भेटघाट, जनसम्पर्क र संगठनात्मक संवादको अवसरका रूपमा अघि बढाएका छन्। पैदल यात्राकै क्रममा स्थानीय राजनीतिक अवस्था, कांग्रेसको आगामी रणनीति, संगठन सुदृढीकरण तथा महाधिवेशनसँग जोडिएका विषयमा नेता–कार्यकर्ताबीच विचार आदानप्रदान भएको बताइएको छ।

उत्तरपानी पुगेर आयोजित चियापान तथा छलफल कार्यक्रममा डा. शर्मा सहित धनकुटा जिल्ला सभापति दिनेश राई, पार्टी सचिव जयन्द्र घिसिङ, कांग्रेस नेता डी.बी. मोक्तान र विमल सङ्ग्रौला लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा पछिल्लो राजनीतिक परिस्थितिका साथै नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई संगठन पुनर्संरचना, नेतृत्व विकास र पार्टीलाई थप जनमुखी बनाउने महत्वपूर्ण अवसरका रूपमा कसरी अघि बढाउने भन्ने विषयमा विशेष छलफल भएको थियो।

डा. शर्माको यो पैदल यात्रा केवल औपचारिक राजनीतिक भ्रमणमा सीमित नरही कार्यकर्ता र जनतासँग प्रत्यक्ष जोडिने ‘ग्राउन्ड जिरो’ अभियानको सन्देशका रूपमा देखिएको छ। हिलेबाट उत्तरपानीसम्मको यात्राका क्रममा स्थानीय तहमा कांग्रेसको अवस्था, जनअपेक्षा र पार्टीको भावी दिशाबारे प्रत्यक्ष रूपमा बुझ्ने प्रयास गरिएको सहभागी नेताहरूले बताएका छन्।

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा जिल्लादेखि केन्द्रसम्म नेतृत्व, संगठन र पार्टीको भावी कार्यदिशाबारे बहस तीव्र बन्दै गएको अवस्थामा धनकुटामा भएको यो भेटघाटलाई कांग्रेसभित्रको तल्लो तहसम्म पुगेर संवाद गर्ने अभियानको एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।


प्रतिक्रिया