न्यूयोर्कमा भव्य बुद्ध जयन्तीः शान्ति सन्देश विश्वभर फैलाउने प्रतिबद्धता

theoutsidenepal.com

न्यूयोर्कमा भव्य बुद्ध जयन्तीः शान्ति सन्देश विश्वभर फैलाउने प्रतिबद्धता


न्यूयोर्क — अमेरिकाको न्यूयोर्कस्थित एल्महर्स्टमा २५७०औँ बुद्ध जयन्ती समारोह भव्यता र उत्साहका साथ सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को आयोजनामा सम्पन्न कार्यक्रमले प्रवासमा नेपाली पहिचान, संस्कृति र आध्यात्मिक चेतनाको शक्तिशाली प्रदर्शन गरेको छ।


कार्यक्रममा महासंघका अध्यक्ष ए.पी. लामा शेर्पाको सभापतित्व रहेको थियो भने नेपाली महावाणिज्य दूतावास न्यूयोर्क का महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। साथै धर्मगुरु गिर्मे छोटक, Non-Resident Nepali Association अमेरिका (एनसीसी) का अध्यक्ष सतेन्द्र साह लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।


कार्यक्रममा वक्ताहरूले गौतम बुद्ध का शान्ति, करुणा र सहअस्तित्वका सन्देश आजको द्वन्द्वग्रस्त विश्वमा झन् सान्दर्भिक बन्दै गएको उल्लेख गर्दै ती मूल्यहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनीहरूले “बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने गौरवपूर्ण सत्यलाई विश्वभर प्रभावकारी रूपमा प्रचार गर्नुपर्ने आवश्यकता औंल्याए।


कार्यक्रममा नेपाललाई बौद्ध तथा हिन्दू धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सके देशको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने धारणा पनि राखियो। प्रमुख अतिथि भण्डारीले यस्ता राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्ध धर्मावलम्बी, नेपाली समुदायका अगुवा तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रवासमा रहे पनि राष्ट्रिय पर्वहरू निर्धारित मितिमै मनाउनुको विशेष महत्व रहेको भन्दै सहभागीहरूले एकता र पहिचान जोगाउने सन्देश दिएका थिए।


कार्यक्रमको समापन गर्दै अध्यक्षले आगामी वर्षदेखि बुद्ध जयन्तीसँगै “शान्ति परेड” समेत आयोजना गर्ने घोषणा गर्नुभयो। साथै न्यूयोर्क डिस्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर उम्मेदवार सोमनाथ घिमिरे लाई डेमोक्रेटिक पार्टीको प्राथमिक चुनावमा उम्मेदवारी दर्ता गराउन सफल भएकोमा अग्रिम बधाई दिइयो। घिमिरेले निर्वाचित भए बुद्ध जयन्तीलाई स्टेट स्तरमा चिनाउने अभियान अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


अन्त्यमा, अध्यक्षले गौतम बुद्ध का पञ्चशील—हिंसा नगर्ने, चोरी नगर्ने, दुराचार नगर्ने, झुट नबोल्ने र मादक पदार्थ सेवन नगर्ने—लाई जीवनमा लागू गर्न सके व्यक्तिगत र सामाजिक जीवन दुवै सुखमय बन्ने बताउँदै विश्वमा शान्ति फैलाउने जिम्मेवारी सबैको भएको उल्लेख गर्नुभयो।


प्रतिक्रिया