काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश पर्यटन विभाग प्रमुख लाक्पा गेल्जेन शेर्पाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले पार्टी परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा औपचारिक प्रवेश गरेका हुन्।
शेर्पालाई उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले ब्याच लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले शेर्पाको आगमनले पार्टी संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई सशक्त बनाउँदै जनताको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।
नवप्रवेशी शेर्पाले उज्यालो नेपाल पार्टीको विचार, नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै देशमा सुशासन, विकास र समृद्धिको एजेन्डा स्थापित गर्न आफू सक्रिय रूपमा लाग्ने बताए। उनले कोशी प्रदेशमा पर्यटन क्षेत्रको विकास, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा विशेष पहल गर्ने उल्लेख गरे।
उनको प्रवेशसँगै कोशी प्रदेशमा उज्यालो नेपाल पार्टीको संगठनात्मक सञ्जाल विस्तार हुने विश्वास गरिएको छ। पार्टी स्रोतका अनुसार पछिल्लो समय विभिन्न दलका नेता–कार्यकर्ताहरू उज्यालो नेपाल पार्टीमा आकर्षित हुने क्रम बढ्दो छ।