अमेरिकामा व्यवसाय गर्दै आएका युवा नेपाली व्यवसायी Prince Yubaraj Karki ले नेपालको वर्तमान राजनीतिक संरचनामा साहसी सुधार आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिलेको राजनीतिक अवस्थाबाट देशलाई बाहिर निकाल्न ठूला संरचनात्मक परिवर्तन आवश्यक रहेको बताएका हुन्।
कार्कीले अब कुनै पनि बहानामा ढिलाइ नगरी Balen Shah लाई प्रधानमन्त्रीमा नियुक्त गर्दै नयाँ साहसी युगको सुरुवात गर्नुपर्ने विचार व्यक्त गरेका छन्। उनका अनुसार बालेनले मन्त्रिपरिषद् गठन गर्दा सांसदहरूबाट मात्रै नभई योग्य, दक्ष र सक्षम विज्ञहरूबाट मन्त्री चयन गर्नु देशको हितमा हुनेछ।
उनले केही सांसदहरू पनि योग्य रहेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूलाई मन्त्री बनाउँदा देशलाई फाइदा पुग्ने बताए। तर भविष्यमा संविधान पुनर्लेखन गर्दा मन्त्री बन्न चाहने सांसदले आफ्नो सांसद पद त्यागेपछि मात्र मन्त्री बन्न पाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
कार्कीका अनुसार अमेरिका जस्तै व्यवस्था लागू गरिएमा मन्त्री बन्न सांसदहरूबीच हुने प्रतिस्पर्धा, सरकार गिराउने खेल र दलभित्रको अस्वस्थ शक्ति संघर्ष अन्त्य हुन सक्छ। “मन्त्री बन्नेले सांसद पद छोड्नुपर्ने नियम बन्यो भने प्रधानमन्त्रीलाई योग्य व्यक्तिहरू चयन गर्न सहज हुनेछ,” उनले उल्लेख गरेका छन्।
यसका साथै उनले नेपालमा रहेको खर्चिलो प्रदेश संरचना पनि हटाउनुपर्ने धारणा राखेका छन्। कार्कीले प्रदेश प्रणालीलाई “देशले धान्न नसक्ने सेतो हात्ती” को संज्ञा दिँदै यसलाई बिना सर्त खारेज गर्नुपर्ने बताएका छन्।
उनले राष्ट्रपतिको सट्टा राजसंस्था पुनर्स्थापना गर्ने विषयमा पनि बहस गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। पाँच–पाँच वर्षमा हुने राष्ट्रपतिको निर्वाचन र त्यससँग जोडिएको खर्च नेपालजस्तो देशले धान्न नसक्ने भन्दै राजासहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणालीबारे संविधान संशोधनमार्फत छलफल हुनुपर्ने उनको भनाइ छ।
युवा व्यवसायी कार्कीले देशको दीर्घकालीन भविष्यलाई ध्यानमा राख्दै Rabi Lamichhane र बालेन शाहले स्पष्ट दृष्टिकोणसहित आगामी ५० देखि १०० वर्षको योजना बनाएर राष्ट्र पुनर्संरचना गर्नुपर्ने बताएका छन्।
“नेपाललाई साँच्चिकै महान बनाउने र सबै नेपालीलाई आफ्नै देशमा केही गर्ने वातावरण सिर्जना गर्ने समय आएको छ,” कार्कीले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।
हाल विदेशमा रहेर पनि नेपाली राजनीति र देशको भविष्यप्रति सक्रिय रूपमा धारणा राख्दै आएका कार्कीका विचार सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेका छन्।