काठमाडौं । नेपाली कांग्रेसका नेता लोकनाथ अधिकारीले चुनावी प्रतिस्पर्धा र राजनीतिक मतभेदका बीच समाजिक सम्बन्ध बिगार्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै समाजमा सद्भाव र सहकार्य कायम राख्न सबैलाई आग्रह गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा चुनाव आउने–जाने प्रक्रिया भए पनि समाज सधैं रहिरहने भएकाले राजनीतिक प्रतिस्पर्धालाई सम्बन्ध तोड्ने माध्यम बनाउन नहुने उल्लेख गर्नुभएको छ। विभिन्न दलका समर्थकहरू लोकतन्त्रका विविध रंग भएको बताउँदै उहाँले यी सबै मिलेर मात्र समाजको सुन्दर चित्र बन्ने धारणा राख्नुभएको छ।
हाल केही स्थानमा देखिएको तिक्तता, एकले अर्कालाई नबोलाउने तथा अस्तित्व अस्वीकार गर्ने प्रवृत्ति चिन्ताजनक भएको भन्दै उहाँले गाउँ–टोलमा साना विषयलाई राजनीतिक रंग दिँदा सामाजिक आधार कमजोर बन्ने चेतावनी दिनुभएको छ।
उहाँका अनुसार चुनाव पाँच वर्षमा आउने भए पनि छिमेकी, आफन्त र साथी जीवनभर साथमा रहने भएकाले विचार फरक भए पनि मन फरक नहुनुपर्नेमा जोड दिनुभएको छ। बहस र प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि द्वेष र सम्बन्ध विच्छेद लोकतान्त्रिक संस्कारविरुद्ध हुने उहाँको भनाइ छ।
समाजलाई विभाजन होइन, सहकार्य र सद्भावतर्फ लैजान आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले “राजनीतिमा प्रतिस्पर्धा गरौं, तर समाजमा सद्भाव जोगाऔं” भन्ने सन्देशसहित सकारात्मक भविष्य निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ।