काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच टेलिफोन वार्ता भएको छ।
अमेरिकी दूतावास काठमाडौंका अनुसार विशेष दूत गोरले हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएका हुन्। दूतावासले जनाएको अनुसार चैत १० गते भएको उक्त संवादमा गोरले रास्वपाले चुनावी परिणाममार्फत हासिल गरेको जितप्रति शुभकामना व्यक्त गरेका थिए।
टेलिफोन वार्ताका क्रममा विशेष दूत गोरले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको कूटनीतिक सम्बन्ध तथा भावी सहकार्यका विविध पक्षमा समेत छलफल गरेका थिए। उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा उत्सुक रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
दशकौँदेखि कायम रहेको नेपाल–अमेरिका मित्रतालाई अझ गहिरो र मजबुत बनाउन अमेरिका सकारात्मक रहेको सन्देशसमेत विशेष दूतले दिएका छन्।